स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छः प्रदेश प्रमुख प्रसाईँ
मकवानपुर । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार हेटौँडामा आयोजित नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको छैटौँ साधारण सभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईँले स्वदेशी उत्पादनको प्रयोग बढाउँदै विदेशी आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख प्रसाईँले लामो समयको लकडाउनका कारण थलिएको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन आग्रह गर्दै नेपालमा विदेशीहरूको आयत नभई विदेशसम्म पठाएर विदेशी मुद्रा भित्र्याउने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडले अर्थतन्त्रमा पारेको अफटेराहरुबाट अगाडि बढ्न व्यवस्थित कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी देशभरका फर्निचर व्यवसायीहरूले थलिएको अर्थतन्त्रलाई उकास्न फर्निचर उद्योगमार्फत स्वरोजगार बनाउन सकिने हुँदा सरकारले यस विषयमा विशेष पहल गर्नुपर्ने बताएका छन् ।
महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य अरुण सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको आतिथ्यता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्