तपाईँ सुन्दै हुनुहुन्छः

बुटिक र डिलक्स होटेललाई तारे ‘स्टार’ होटेलको मान्यता दिइने

काठमाडौँ । सरकारले बुटिक र डिलक्स होटेललाई समेत तारे ‘स्टार’ होटेलको मान्यता दिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटेलको वर्गीकरण गरी तारे स्तरको होटेलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधा सम्पन्न तारे होटेललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटेलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबै स्तरका रिसोर्ट, तारेस्तरका होटेल तथा सबै स्तरका बुटिक होटेलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा तारा चिन्ह निर्धारण गरेको छ । होटेल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटेलसम्बन्धी नयाँ मापदण्डले होटेलको स्तरीकरणका साथै होटेलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिनुभयो ।

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटेलको सङ्केत चिन्ह क्रमशः एक तारादेखि पाँच तारासम्म हुनेछ भने पाँच तारा डिलक्स होटेलका लागि पाँच तारा र डिलक्स शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटेलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको सङ्केत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ ।

साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गीकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गीकरण भएका सबै होटेलले गोलाकार भित्र रातो रङमा (टीएस) लेखेको चिन्हलाई होटेलको सङ्केत चिन्हका रुपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button