तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल रेडक्रस सोसाइटी झापाको जिल्ला सभा सम्पन्न

झापा । मानवीय सेवामा समर्पित रेडक्रस अभियानमा रचनात्मक सहयोग पुर्‍याउने सङ्घ–संस्थालाई सम्मान र उत्कृष्ट रेडक्रस संस्थालाई पुरस्कृत गर्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ४७ औँ जिल्ला सभा सम्पन्न गरेको छ ।

झापाको भद्रपुरस्थित संस्थाको सभा हलमा आयोजित समारोहका बिच शनिबार जिल्ला सभा सम्पन्न भएको हो ।

राष्ट्रिय रूपमै सधैँ अब्बल शाखाको रुपमा रहँदै आएको झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा आयोजित साधारण सभा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा जिल्लामा एक वर्षभरिमा सबैभन्दा बढी रक्त सङ्कलन गर्ने संस्थालाई अवार्डसहित सम्मान गरिएको थियो भने वर्षभरि उत्कृष्ट काम गर्ने उपशाखाहरूलाई पुरस्कृत गरिएको थियो ।

शाखाका मन्त्री चन्द्रप्रसाद चूडाल र उपमन्त्री विश्व थापाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा मन्त्री चुडालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मनोज अग्रवालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य ओमप्रकाश गौतमले स्वागत गर्नुभएको थियो ।

रेडक्रस झापाले कोभिड–१९ को महामारीको समयमा जिल्लाका विभिन्न स्थानका क्वारेनटिन लगायत स्वास्थ्य संस्थाहरूलाई उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो भने कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न समुदायलाई राहत सामग्री उपलब्ध गराउनुका साथै जिल्लामा पीसीआर ल्याब स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभापति लोकराज ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button