तथ्यगत समाचार उत्पादन र सम्प्रेषण गर्नु सञ्चार संस्थाको दायित्व : मन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बस्तुपरक र तथ्यगत समाचार उत्पादन र सम्प्रेषण गर्नु सञ्चार संस्थाको दायित्व भएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को ६०औँ वार्षिकोत्सवमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले भ्रामक र नकारात्मक सन्देश दिनेतर्फ नभई परिवर्तनमुखी समाचार उत्पादन र प्रसारण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले राससमा कार्यरत कर्मचारीहरूका मागहरूमा छलफल गर्न तयार रहेको बताउनुहुँदै संस्थाले गरेका कामको समीक्षा र आगामी कार्यक्रमको ठोस रणनीति तयार गर्न पनि समितिलाई निर्देशन दिनुभयो ।
मन्त्री गुरुङले परिवर्तनलाई संस्थागत गर्न पुर्खाको योगदान र बलिदानको उच्च सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले सरकार सधैँ रूपान्तरण र समृद्धिको पक्षमा रहेको भन्नुहुँदै आगामी वैशाखमा हुने निर्वाचनले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पछिल्लो समय सञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढेको भन्नुहुँदै सरकारी सञ्चार माध्यामहरुले पेसागत क्षमता र दक्षता अभिवृद्धिका माध्यमबाट आफूलाई अब्बल बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका प्रबन्ध निर्देशक ओपेन्द्र शर्माले राससलाई सुदृढ, सक्षम र अब्बल संस्थाको रुपमा विकास गर्न आवश्यक रणनीति आफूहरूले बनाउने र त्यसको कार्यान्वयनका लागि मन्त्रालयको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिमा २० वर्ष सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा राससमा आबद्ध उत्कृष्ट कार्य गर्ने सम्वाददाताहरूलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्