तपाईँ सुन्दै हुनुहुन्छः

कमलबजार नगरपालिकामा ४ सय ८४ जनाले रोजगार पाउने

अछाम । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अछामको कमलबजार नगरपालिकामा चार सय ८४ जनाले रोजगारी पाएका छन् ।
नगरपालिकाका १० वटै वडामा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न योजनाहरूमा धमाधम काम सञ्चालन भइरहेको छ ।
रोजगार कार्यक्रमका लागि २ करोड ५० लाख २३ हजार बजेट प्राप्त भएकोमा प्रत्येक वडाका प्राथमिकतामा परेका विभिन्न योजनाहरूका लागि सो बजेट योजना अनुसार नै बाडफाड गरी काम भइरहेको कमलबजार नगरपालिका रोजगार संयोजक वासुदेव भण्डारीले जानकारी दिनुभयो ।

१ जनाले एक सय दिन बराबर काम गर्न पाउने भएका हुन् । १ दिनको ५ सय १७ रुपैयाँका दरले १ सय दिनको ५१ हजार ७ सय रुपैयाँ १ जनाले पाउने पनि संयोजक भण्डारीले बताउनुभयो ।

कमलबजार नगरपालिका भित्र लगभग २४ सय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएकामा ४ सय ८४ जना यस कार्यक्रमका लागि छनोट भएका हुन् ।
कृषि उत्पादनले ३ महिना पनि खान नपुग्ने, परिवारको कोही पनि व्यक्ति रोजगार नभएको, सामाजिक सुरक्षा लगायत सरकारी कोषबाट सुविधा नलिएको, वैदेशिक रोजगारीबाट फर्किएको वा श्रम स्वीकृति लिई रोजगारीमा जान नपाएको व्यक्तिको परिवार वा अन्य बेरोजगार लगायतका व्यक्तिहरूका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो ।
पछिल्लो समय कमलबजार नगरपालिका लगायत अछामका विभिन्न पालिकाका साथै देशैभर विभिन्न ठाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस कार्यक्रमले भारत तथा अन्य मुलुकमा जानु पर्ने बाध्यतालाई केही हद सम्म भए पनि राहत पुर्‍याउने सरोकारवालाको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button