शिक्षण पेसासँगै व्यावसायिक घाँस खेती, वार्षिक सात लाख आम्दानी

सल्यान । कालीमाटी गाउँपालिका–५ दमदुवालीका सुरेश कुमार गाहा मगरले व्यावसायिक घाँस खेतीबाट वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन् ।
शिक्षण पेसा समेत गर्दै आइरहेका मगरले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक घाँस खेती गर्दै आइरहेका छन् ।

बिहान र बेलुकाको समयमा घाँस बारीमा जाने गरेको उनले बताए । यसरी अतिरिक्त व्यवसाय गर्दा शारीरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक मगरको अनुभव छ ।
३० रोपनीमा लगाइको घाँसमा सुपर नेपियर, सिओ फोर, पासपालन, सुम्बा सेतरिया, मुलाटो लगायतका रहेका छन् । उत्पादन भएको घाँसको बजारीकरणमा कुनै समस्या नहरेको उनको भनाई छ । समूह, सहकारी, पशु सेवा कार्यालयले अडर गर्ने गरेको उनले बताए ।

घरका अन्य सदस्यहरूले समेत व्यवसायको हेरचाह गर्ने, सघाउ पुर्याउने भएपछि जागिर गर्न कठिनाइ नभएको उनले बताए ।
घाँसको विक्री वितरणदेखि हेरचाह गर्न दुई जनालाई रोजगारी समेत दिएको गाहाले बताए । उनले भने ‘शिक्षक भएपछि कृषि पेसा अङ्गाल्नु हुँदैन भन्ने सामाजिक मान्यता रहेको छ । त्यस्तो मान्यतालाई तोड्न पनि मैले व्यावसायिक घाँस खेती र बाख्रा पालन गर्दै आइरहेको छु ।’








प्रतिक्रिया राख्नुहोस्