तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोक क्षेत्रमा भारी हिमपात

दोलखा । दोलखाको उच्च पहाडी भेग प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार दिउँसो तीन बजेबाट हिमपात सुरु भएको कालिन्चोक मन्दिर प्रवेश क्षेत्र कुरीका होटल व्यवसायी विमल ओझाले बताउनुभयो ।

यो बर्ष पहिलो पटक गत माघ २४ गते कालिन्चोक क्षेत्रमा हिमपात भएको थियो । यो वर्षको दोस्रो पटक बुधवार बेलुका केही समय हिमपात भएर रोकिएको थियो भने बिहीबार दिउँसोबाट पुनः हिमपात सुरु भएको कुरीमा रहेको होटल सुनपातिका म्यानेजर समेत रहेका होटल व्यवसायी ओझाले बताउनुभयो । कालिन्चोक क्षेत्रमा झन्डै आधा फिट हिउँ परेको ओझाको भनाई छ ।

 बुधवारबाट हिमपात सुरु भएपछि अहिले कालिञ्चोकको कुरीमा रहेको सबै होटलहरु बुक भएको ओझाले बताउनुभयो । कोरोनाका कारण झन्डै एक बर्ष ठप्प रहेको कालिन्चोक तथा दोलखा सदरमुकाम चरिकोट, दोलखा बजारलगायत पर्यटकीय क्षेत्रका होटलहरु धमाधम बुक हुन थालेका छन् । कुरीमा मात्र साना ठुला गरी ६० भन्दा बढी होटल रहेको सुनपाति होटलका सञ्चालक हरि ओली बताउनु हुन्छ ।

हिमपातका कारण कालिन्चोक मन्दिर तथा आसपासका डाँडाहरू सेताम्य भएको स्थानीयले बताएका छन् । हिमपातले केही समय कालिन्चोकमा यातायात आवागमनमा समस्या देखिएको भए पनि बेलुका देखि यातायात सुचारु भएको प्रहरी नायव उपरीक्षक भेषबहादुर रिजालले बताउनु भएको छ ।

दोलखा र सिन्धुपाल्चोकको सिमाना मुडे र खरिढुङ्गा क्षेत्रमा पनि बिहीबार बेलुका देखि हिमपात भई रहेको तर यातायात भने अवरुद्ध नभएको प्रहरी नायव उपरीक्षक रिजालले बताउनुभयो । दोलखाको शैलुङ क्षेत्रमा पनि हिमपात भई रहेको स्थानीयले जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button