निर्वाचन आचारसंहिताबारे धनुषाका सरोकारवालाबीच छलफल

जनकपुरधाम । अगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई दृष्टिगत गरेर जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचन दिवसको अवसर पारी निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको छ ।
विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको सहभागितामा आज जनकपुरधाममा भएको कार्यक्रममा आचारसंहिताको विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनु भएको छ ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा धान्धलीरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचनमा सरोकार भएका सबै पक्षले निर्वाचन आचारसंहिताको पालन गर्नु पर्ने आवश्यकतामा नयाँ निर्वाचन आचारसंहिताले जोड दिएकोले यसको पालना गर्नु हरेक व्यक्तिको दायित्व भएको निर्वाचन अधिकारी झाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी भएका दल तथा अन्य सहभागीहरूले विगतका निर्वाचनमा भएको आचारसंहिता उल्लङ्घनको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुहुँदै आउँदो निर्वाचनमा कडाइ गर्नका लागि आग्रह गर्नु भएको थियो ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन राजनीतिक दलबाट नै हुने भएकाले अगामी निर्वाचनमा दलहरूले निर्वाचन आचारसंहिताको पालना पूर्णरुपमा गर्ने विश्वास आयोगको रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन अनुगमन समितिका संयोजक बन्धु प्रसाद बास्तोलाले निर्वाचन आचारसंहिताको पालना गर्नु हरेक नागरिकको कर्तव्य एवं दायित्व भएको बताउनुभयो ।
निर्वाचन आचारसंहिताको पालनाले मुलुकमा लोकतन्त्र, गणतन्त्र तथा सुशासन हुने भएकाले यसतर्फ सबै पक्ष गम्भीर हुन आवश्यक भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्