तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ

सुर्खेत । प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सदस्यद्वय बसन्तीकुमारी सिंह शाही, भक्तबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (४) बमोजिम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गठित सिफारिस समितिले फागुन २ गते उनीहरूको नाम सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम तीनैजनालाई बिहीबार प्रदेश प्रमुख कलौनीले अध्यक्ष र सदस्य पदमा नियुक्त गर्नुभएको थियो ।

नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । सदस्यद्वय शाही र खड्कालाई अध्यक्ष उपाध्यायले शपथ ग्रहण गराउनु भयो ।

प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमै प्रदेश लोकसेवा आयोग कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । तर हालसम्म कार्यालयको व्यवस्थापन नभएका कारण नवनियुक्त पदाधिकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थापना गरिएको अस्थायी कार्यालयमा रहेर काम गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button