तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट ७ महिनामा ७४ अर्ब १६ करोडको उत्पादन भारत निर्यात

वीरगंज । मुख्य नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो ७ महिनामा भारततर्फ ७४ अर्ब १६ करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको विभिन्न मालसामान निर्यात भएको छ ।

चालु वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबै भन्दा बढी भारत तर्फ निर्यात भएको  वीरगंज  भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनु भयो ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा वीरगञ्ज नाकाबाट मात्रै १३ अर्ब १७ करोड ९३ लाख ९४ हजार मूल्य बराबरको ८ करोड ७९ लाख ३३ हजार ४ सय ३७ किलो भटमासको तेल भारत तर्फ निकासी भएको छ । वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका  १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् ।

गत आव २०७६/७७ को साउनदेखि माघसम्मको तुलनामा चालु वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा २ सय ३९ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।

त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्रास, सहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैँचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् । डाबरको जुस जाम १ अर्ब ९५ करोड २३ लाख ४५ हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६६ करोड २० लाख १६ हजार मूल्य बराबरको निर्यात भएको छ ।

डाबर दन्त मन्जन मात्रै ६० करोड १५ लाख ५४ हजारको निर्यात भएको छ भने जमोठ कपडा ७४ करोड ८१ लाख ५ हजार मूल्य बराबरको निर्यात भएको छ ।

यता स्पोर्ट सुज नेपालबाट ५५ करोड ४७ लाख २० हजार मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सीआर सिटलगायत वस्तु समेत ठुलो परिणाममा भारत तर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button