तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढ्दो

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना विरुद्धको खोप लगाउन आज खोप केन्द्रमा भिड देखिइएको छ ।

खोप लगाउनेहरू उत्साहित भएर विभिन्न खोप केन्द्रमा पुगी खोप लगाइरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले धनुषाको सबै स्वास्थ्य केन्द्रमा खोप केन्द्र स्थापना गरेर दोस्रो चरणमा परेकाहरूको सूचिका आधारमा खोप लगाइरहेको छ । दोस्रो चरणमा कर्मचारीहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई खोप लगाउने कार्य भइरहेको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, सफाइकर्मी तथा शव व्यवस्थापनमा संलग्न रहेकाहरूलाई खोप लगाइएको थियो ।

पहिलो चरणमा धनुषा जिल्लामा ३ हजार ८ सय ३ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला  बुधवारसम्ममा १ हजार ३ सय जनाले खोप लगाइसकेका छन् ।

सुरुमा खोप लगाउनका लागि डराए पनि अहिले भने खोप लगाउन आउनेहरूको भिड बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप प्रमुख राजदेव यादवले जानकारी दिनुभयो ।

भारत सरकारको सहयोगमा प्राप्त भएको कोरोना विरुद्धको खोप निक्कै प्रभावकारी एवं सुरक्षित भएकाले निर्धक्क भएर खोप लगाउन लक्षित वर्गका व्यक्तिलाई आग्रह उहाँले गर्नुभयो ।

नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. सञ्जय ठाकुरले खोप निक्कै सुरक्षित एवं प्रभावकारी भएकाले खोप लगाउन आग्रह गर्नुभयो । आफूले पनि सुरुमा नै खोप लगाएको र यसको कुनै असर पनि नदेखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button