तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति सुरक्षालाई थप मजबुत बनाउने’  

अछाम । अछाम प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्यालले अछामको शान्ति सुरक्षालाई थप मजबुत बनाउने  बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाममा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा  बोल्नुहुँदै  डिएसपी अर्यालले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने बताउनुभएको हो ।

जिल्लामा अहिले पनि थुप्रै किसिमका समस्याहरू रहेकाले ती समस्याको समाधानका लागि आफू काम गर्ने समेत उहाँले बताउनुभयो ।

जिल्लास्थित संचारकर्मी,  राजनीतिक दल, महिला अधिकारकर्मी लगायतका सरोकारवालासँगको परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख अर्यालले जिल्लाका नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु आफ्नो पहिलो जिम्मेवारी भएकाले आफू माथि आएको यो जिम्मेवारीलाई सहज ढङ्गले पूरा गर्ने समेत बताउनुभयो ।

जिल्लास्थित पत्रकारहरूको सुझावको जवाफ दिनुहुँदै अर्यालले विशेष गरी महिला हिंसा,घरेलु हिंसा तथा अव्यवस्थित मदिरा व्यवस्थापनको पक्षमा स्थानीय तहहरूसँग समन्वय गर्दै अगाडि बढ्ने पनि बताउनुभयो ।

प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने भएकाले सबैसँग सहकार्य गर्न अछाम प्रहरी तयार रहेकाले यस अभियानमा साथ दिन पनि उहाँले आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामले यसअघि सुरुवात गरेका कामहरू लाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा केही नयाँ कामको थालनी गर्ने पनि उहाँको भनाइ छ ।

जिल्लाका बिकट ठाउँमा आफूले स्थलगत भ्रमण गरी त्यहाँको समस्या लाई पहिचान गर्दै समाधानका उपाय खोजिने पनि उहाँले बताउनुभयो ।

जिल्लामा पछिल्लो समय आत्महत्याका घटनाहरू पनि बढिरहेको पाइएकाले पनि यसको कारण खोजिने उहाँको भनाइ छ ।

आफूले यसअघि देशका विभिन्न जिल्लाहरूमा काम गरेको भन्दै उहाँले आफूले बटुलेको अनुभवलाई अछाम जिल्लामा कार्यान्वयन गर्ने बताउनुभयो  ।

यस अघि सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा पनि प्रहरी प्रमुखको जिम्मेवारी  सम्हाल्नुभएका अर्यालले सुदूरपश्चिममा आफ्नो दोस्रो कार्यकाल भएको समेत बताउनुभयो ।

कुनै राजनीतिक दलको परिबन्धमा नपरी निष्पक्ष सेवाका लागि सधैँ लागि पर्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button