तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ४ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

तनहुँ । तनहुँमा चार हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पहिलो र दोस्रो चरणमा गरी बुधवारसम्म ४ हजार ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो ।
पहिलो चरणमा १ हजार ८ सय ३० र दोस्रो चरणमा बुधवारसम्म २ हजार २०८ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको अधिकारीले बताउनुभयो ।
बुधवार मात्रै २३५ जनाले कोरोना विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
दोस्रो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम जिल्लामा फागुन ८ गतेसम्म चल्नेछ ।
खोप लगाएकाहरूमा सामान्य ज्वरो, शरीर दुखाइरहेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’खोप सुरक्षित रहेकाले सबैले लगाउनुपर्छ ।’
पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहर मैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शव वाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले खोप लगाएका थिए ।
दोस्रो चरणमा बैङ्कका कर्मचारी, सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी तथा पत्रकार लगायतलाई कोरोना विरुद्धको खोप दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button