तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो

सुर्खेत । कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ ।
कर्णाली प्रदेश हेर्ने गरी सुर्खेतमा २०७५ सालमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि अनुमति लिनेहरू यस वर्ष कोरोना कहरका कारणले घटेको हो ।
कार्यालय प्रमुख सुनिता कुमारी दर्लामीले अन्य वर्षको तुलनामा कोरोना कहरकै कारण यस वर्ष कर्णालीबाट वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्म २ सय ४९ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षको सोही अवधि माघ मसान्तसम्म १ हजार ९ सय ३० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
‘गत वर्षको चैत १ गतेदेखि नै कोरोना कहरका कारण असार मसान्तसम्म पुनः श्रम स्वीकृति लगायतका सबै सेवाहरू बन्द गर्नु प¥यो,’ उहाँले भन्नुभयो, ‘साउन १ गतेदेखि कार्यालय खुले पनि कात्तिक, मङ्सिरदेखि छिटपुट सेवाग्राही वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिन आउने गरेका छन् ।’
उहाँले अन्य प्रदेशको तुलनामा कर्णालीका नागरिक तेस्रो मुलुकभन्दा छिमेकी मुलुक भारतमा बढी जाने गरेको बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ हजार २६ जना रहेको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार त्यस अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ९ सय २६ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका थिए ।
कर्णालीबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन यसअघि काठमाडौँ जानुपर्ने बाध्यता थियो ।
पछिल्लो समय प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ ।
आन्तरिक श्रमिकको गुनासो सुन्ने व्यवस्था समेत कार्यालयमा रहेको उहाँले बताउनुभयो ।
‘ज्याला नपाएको भन्दै कार्यालयमा ४ वटा उजुरी परेकोमा ३ वटा उजुरीको सुनुवाइ भइसकेको  भने १ वटा पछ्र्यौट प्रक्रियामा रहेको छ,’ उहाँले भन्नुभयो, ‘कार्यालयमा प्रायः औपचारिक क्षेत्रका भन्दा अनौपचारिक क्षेत्रका उजुरी एवं गुनासाहरू नै बढी आउने गरेका छन् ।’
उहाँले सुर्खेत कार्यालयबाट श्रमिक आपूर्तिकर्ता दर्ता, नवीकरण लगायतका काम समेत हुँदै आएको बताउनुभयो ।
उहाँका अनुसार श्रमिक आपूर्ति दर्ताका लागि १० हजार र नवीकरणका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button