एपीएफको जितको यात्रा निरन्तर
काठमाडौँ । राष्ट्रिय महिला लिगको उपाधि पक्का गरिसकेको विभागीय टिम एपीएफले जितको यात्रालाई निरन्तरता दिएको छ ।
आर्मीले पुलिससँग एक एक गोलको बराबरी खेलेपछि उपाधि पक्का गरेको एपीएफले विराटनगर महानगरपालिकालाई एक शून्यले हरायो । लगातार ११ औँ खेलमा अपराजित रहने क्रममा एपीएफको जितमा अनिता केसीको एक मात्र गोल निर्णायक बन्यो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेका एपीएफका लागि ५५ औँ मिनेटमा सरु लिम्बुले डिबक्सभित्र दिएको पासलाई अनिता केसीले गोल गर्न सफल हुनुभयो । त्यसो त खेलमा एपीएफकी सावित्रा भण्डारीको अनुपस्थिति निकै खड्किएको थियो । सावित्रा घाइते भएर आराममा हुनुहुन्छ । उहाँ लगभग एक वर्ष खेल मैदान बाहिर रहनुहुनेछ ।
अरू खेलको तुलनामा एपीएफले विराटनगरविरुद्ध आक्रामक खेल खेल्न भने सकेन । जसका कारण अन्तिममा अनिताको गोल नै एपीएफलाई तीन अङ्क जोड्न निर्णायक बन्यो ।
यो जितपछि लिग च्याम्पियन बनिसकेको एपीएफको ११ खेलमा ३३ अङ्क भएको छ । अब उसले लिगको अन्तिम खेलमा दशरथ रङ्गशालामा त्रिभुवन आर्मीसँग खेल्नेछ । त्यो खेलपछि एपीएफले प्रतियोगिता उपाधि उचाल्नेछ ।
अर्को खेलमा त्रिभुवन आर्मी नेपाल पुलिस क्लबसँग एक एक गोलको बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले पुलिसविरुद्ध फितलो प्रदर्शन गर्यो । खेलमा पुलिसले आत्मघाती गोलबाट पहिलो हाफमा अग्रता बनायो । खेलको १७ औँ मिनेटमा पुलिसले खेलमा एक शून्यको अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्न सफल भयो । खेलको ५५ औँ मिनेटमा आर्मीका लागि रश्मि घिसिङले गोल गर्दै खेल बराबरी गर्नुभयो । यो बराबरीको फाइदा एपीएफले लिन सफल भयो । अब एपीएफले आफ्ना दुई खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्