कर्णालीमा १६ वटा पर्यटकीय गन्तव्य छनोट

सुर्खेत । आन्तरिक तथा विदेशी पर्यटकलाई गाउँ गाउँसम्म पुर्याउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ वटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।
केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्याउने लगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आव्हान गरेको थियो ।
उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७१३ वटा आयोजना मध्ये कर्णालीबाट १६ वटा आयोजनासँगै देशभरका २०० वटा पर्यटकीय गन्तव्य छानिएका छन् ।
कर्णालीका रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित लक्ष्मी नारायण मन्दिर र भेरी नदीमा जेट बोट सञ्चालन एवं कालापानी खानेपानी सिँचाई आयोजनाका लागि अनुमानित ६ करोड ९९ लाख रुपियाँको लागतमा दुई वर्ष भित्र काम सक्ने लक्ष्य राखिएको छ ।
त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पुताल वरिपरि बगैँचा, प्रतीक्षालय बाटो तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड ९३ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
त्यसै गरी चौरजहारी नगरपालिकाको मालिका पर्यटकीय क्षेत्र विकास तथा पदमार्ग निर्माण कार्यक्रमका लागि ६ करोड ५० लाख, हुम्लाको खार्पूनाथ गाउँपालिकाको खापूनार्थ शिवालय पर्यटकीय पूर्वाधार विकास आयोजनाका लागि ५ करोड, सिमकोट गाउँपालिकाको रलिङ तीर्थ सडक निर्माणका लागि ५ करोड, दैलेखको विन्दवासिनी नगरपालिकाको नगर पार्क निर्माणका लागि ५ करोड लागत अनुमान गरिएको छ ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिकाको पञ्चकोषी पर्यटन क्षेत्र संरक्षण तथा पूर्वाधार विकास कार्यक्रम तर्फ ७ करोड, भगवती माई गाउँपालिकाको मायाराम स्मृति पार्क निर्माण आयोजनाका लागि ३ करोड ३२ लाख, जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्यूलो संरक्षण तथा संवर्द्धनका लागि २ करोड, कालिकोटको रास्कोट नगरपालिकाको वडिमालिकादेखि देउरामालिका सडक स्तरोन्नति आयोजनाका लागि २ करोड लागत खर्च अनुमानित गरिएको छ ।
त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–८, डुम्कोट दलित संग्राहालयका लागि ४ करोड ४५ लाख, सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे ताल पूर्वाधार विकासका लागि ६ करोड ८१ लाख, जाजरकोटको भेरी नगरपालिकाको पर्यटकीय स्थल मालिका मन्दिर निर्माणका लागि ३ करोड, नलगाड गाउँपालिकाको खानटाकुरा शहीद स्मृती भवन निर्माणका लागि १ करोड ५० लाख, कालिकोटको खाँडाचक्र नगरपालिकाको नैनीकाध–जिउली–धर्मशाला निर्माण र चुलीमालिका मन्दिर क्षेत्र पर्यटन पूर्वाधार क्षेत्र विकासका लागि १ करोड ९८ लाख, पचालझरना गाउँपालिकाको पदमार्ग निर्माणका लागि ५ करोड रुपियाँ लागत खर्च अनुमानित गरिएको छ ।
प्रतिवर्ष १ अर्ब रुपियाँ थप आम्दानी हुने अपेक्षासहित सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्¥याक, सङ्ग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि रहेका छन् । यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्नेछ ।
ती आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्