तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गममा फोरजीले ल्यायो खुशी

फोरजी सेवा सञ्चालनमा आएपछि टावरनजिक स्थानीय
सोलुखुम्बु । सोलुखुम्बुका दुर्गम गाउँमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । सोताङ गाउँपालिकाका बलुकुविर नाछिरिङले फोरजी सञ्चालन भएपछि इन्टरनेट तीव्र गतिमा चलाउन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
सोलुखुम्बुको सोताङमा निर्माण गरिएको फोरलेग टावरबाट सोलुखुम्बुकै दुर्गम मानिने दूधकोशीपारी पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेपछि स्थानीयमा तीव्र गतिमा इन्टरनेट चलाउने चाहाना पुरा भएको हो । विद्यालयमा इन्टरनेटको माध्यमबाट अब सजिलै विश्वका घट्नाक्रम थाहा पाउन सकिने वाकुका जीवन राईले बताउनुभयो ।
त्यस टावरबाट सोताङ, माप्यदूधकोशी गाउँपालिकाका अधिकांश क्षेत्र र थुलुङ दूधकोशी गाउँपालिकाका विभिन्न क्षेत्रमा सेवा पुगेको छ ।
त्यस्तै, थुलुङदूधकोशी गाउँपालिकाको कागेलडाँडामा निर्माण गरिएको टावरबाट पनि फोरजी सेवा सुरु भएपछि तल्लो क्षेत्रमा इन्टरनेट चलाउन सहज भएको छ । काँगेलको टावरबाट फोरजी सेवा सञ्चालनमा आएपछि थुलुङ दूधकोशी, नेचासल्यान गाउँपालिका तथा खोटाङका केही क्षेत्रका स्थानीय लाभान्वित भएका छन् ।
हालसम्म सोलुखुुम्बुको सदरमुकाम सल्लेरी, सोताङ, काँगेल र पत्तालेबाट फोरजी सेवा सञ्चालन गरेको र नेचासल्यानको थामडाँडाबाट पनि चाँडै फोरजी सेवा सञ्चालनमा ल्याउने नेपाल टेलिकम सोलुखुम्बु शाखा प्रमुख मोहम्मद अकबर अलिले जानकारी दिनुभयो ।
सोलुखुम्बुमा यी बाहेक वाकु, गुदेल, जुबुको बलङ्गामा पनि फोरलेग टावर निर्माण गरिसकेर सञ्चालनको तयारीमा रहेको उहाँको भनाइ छ । यसअघि निजी कम्पनीले सञ्चालन गरेका सुस्त गतिका इन्टरनेटबाट स्थानीयले मुक्ति पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button