तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा सरस्वती पूजाको बिहान देखि रौनकता 

जनकपुरधाम । माघ शुक्ल पञ्चमी तिथिका दिन मनाइने श्रीपञ्चमी पर्वको अवसरमा विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा आराधना प्राचीन मिथिला राजधानी जनकपुरधाम भव्य रुपमा मनाइदैछ ।
जनकपुरधामका विद्यालय र कलेजसहितका शिक्षा प्रदान गर्ने हरेक निकाय तथा विद्यार्थीहरू बसोबास गर्ने छात्रावासहरूमा पनि धूमधामका साथ सरस्वतीको पूजा आराधना गरेर मनाइदैछ । कतिपय व्यक्तिहरू आफ्नो घरमा पनि सरस्वती पूजा गर्ने चलन रहेको छ ।
यस उपलक्ष्यमा कतिपय ठाउँमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमको आयोजनाका साथै विद्यालयहरूमा निःशुल्क नामाङ्कन गर्ने कामकाज भइरहेको छ । आजको दिन अक्षर आरम्भ गर्नका लागि शुभ मानिने भएकाले धेरै अभिभावकहरूले आजको दिन बालबालिकाको नामाङ्कन विद्यालयहरूमा गर्ने गरेको मिट क्याम्पसका प्रमुख मनोज साहले जानकारी दिनु भयो ।
मिथिलाञ्चल क्षेत्रमा माटोको माता सरस्वतीको कलात्मक प्रतिमा बनाएर विधि पूर्वक पूजा आराधना गर्ने चलन दिन प्रति दिन बढ्न थालेको छ । माता सरस्वतीलाई प्रसादको रुपमा बुनिया, सेवई, वैर, केसउर सहितका फलफूल एवं परिकारहरू चढाउने चलन रहेको छ ।
बिहान देखि नै विद्यार्थीहरू नुहाई धोवाइ गरेर नयाँ लुगा लगाएर आफ्नो कलम, कापीहरू सरस्वतीको पूजा हुने ठाउँ वा मन्दिरमा राख्ने गर्दछ । जनकपुरधाममा बिहान देखि नै विद्यार्थी अभिभावकहरूको अत्यधिक चहल पहल नगर भरि नै देखिइएको छ ।
ग्रामीण क्षेत्रहरूमा पनि सरस्वती पूजाको विशेष रौनकता रहेको छ । मधेसका जिल्लाहरूमा सरस्वती पूजा व्यापक मात्रामा गर्ने चलन रहेको छ । यो क्रम बर्षेनी रुपमा बढ्दो रहेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि तथा विवेक बढ्ने विश्वास रही आएको छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले चिन्दछन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
आजैको दिन देखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button