स्थानीय पाठ्यक्रम निर्माण गर्दै म्याग्दे गाउँपालिका

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्ने तयारी गरेको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोल लगायतलाई समेट्न नसक्ने महशुस गर्दै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले आइतबारदेखि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय विषयवस्तु र आवश्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमको आवश्यकता परेको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देको परिचय दिने खालको पाठ्यक्रम तयार गर्नुपर्ने बताउनुभयो ।विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले आधारभूत तहमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्था छ ।
अन्तरक्रिया कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक श्रीबहादुर थापा, जिल्ला विकास समितिका पूर्व सभापति विश्वबहादुर अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा लगायतले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शनमा रहेर पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्