तपाईँ सुन्दै हुनुहुन्छः

न्युजिल्याण्डमा कोरोनाविरुद्धको खोप पहिलो पटक भित्रियो

न्युजिल्याण्डमा कोरोनाभाइरस विरुद्धको खोप पहिलो पटक सोमबार भित्र्याइएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेल्नु भएकि प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गर्नुभएको हो ।

स्थानीय समय अनुसार सोमबार विहान ९.३४ मा ६० हजार मात्राखोप स्वदेश ल्याइएको उहाँले जानकारी दिनुभयो ।खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “फाइजर/बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अव यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानको रुपमा अगाडी बढाउने तयारी भएको छ ।”

आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ । कोरोनाभाइरस विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उहाँले बताउनुभयो ।

आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उहाँको भनाइ छ । एक जनालाई दुई ओटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो ।

“अग्रपङ्क्तिमा रहेर कामगर्दै आएका सफाई मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,” उहाँले भन्नुभयो ।

खोप लगाएपछि न्युजिल्याण्डका सवै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।उहाँकाअनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button