तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा माटो परीक्षण घुम्ती शिविर सञ्चालन 

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको रतुवामाई नगरपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । परियोजना अन्तर्गत धान जोन कार्यक्रम सञ्चालन हुँदै  आएको नगरपालिकामा माटो परीक्षण गरेर त्यसको उपचार गर्दै उत्पादन बढाउन शिविर आयोजना गरिएको हो ।

१ सय ५ जना किसानले परीक्षणका लागि दिएको माटोमध्ये आज ५० जना किसानले दिएको माटोको परीक्षण सार्वजनिक गरिएको थियो । माटोको उर्वरा शक्ति घट्दै गएपछि परियोजनाले निःशुल्क माटो परीक्षण शुरु गरेको हो ।

त्यस अवसरमा परीक्षण सार्वजनिक गर्दै कुन प्रकारको माटोमा कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा समेत किसानलाई सुझाव दिइएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परीक्षण गरिएको अधिकांश माटोमा अम्लीयपन अत्यधिक रहेकाले त्यसको निराकरणका लागि कृषि चुनको प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले चैते धानलाई विस्तार गर्ने सरकारको नीति अनुसार माटो परीक्षण गरिएको र परीक्षणपछि किसानलाई स्वायल टेष्टकार्ड दिने बताउनुभयो ।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति घटिरहेको अवस्थामा यस्तो शिविरले किसानलाई फाइदा पुग्ने बताउनुभयो ।

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख नाथुप्रसाद चौधरी तथा कार्यालयका माटो विज्ञ दिगम्बर प्रसाद यादवले माटो परीक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

जोनका कारण धान उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको परियोजना प्रमुख मण्डलको भनाई छ । उन्नत जातको बीउ तथा सिँचाइको सहज व्यवस्था भएकाले उत्पादन बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button