धितोपत्रको दोस्रो बजारमा उच्च दरको वृद्धि
काठमाडौँ । सोमबार नेपाली धितोपत्रको दोस्रो बजारमा उच्च दरको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ ।
यस दिन परिसूचक ९२.४२ अङ्क बढेर २५८६.०१ विन्दुमा पुगी नयाँ रेकर्ड बनाएको हो । यस अघि माघ २६ गते मात्रै नेप्सेले अलटाइम हाइ रेकर्ड बनाएको थियो ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई प्रभावित पार्ने नीतिहरू आउने हल्लाले पछिल्लो दुई कारोबार दिन करिब ५० अङ्कले बजार घटेको थियो सोमबार २०५ कम्पनीको ६८ हजार ३१९ पटकको कारोबारमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षाका क्रममा १० मेगावाटभन्दा साना जलविद्युत आयोजनालाई विशेष पुनर्कर्जामा पहुँच पुर्याउन व्यवस्था मिलाउने प्रतिबद्धता गरेपछि निजी क्षेत्र उत्साहित भएको छ ।
हिउँदमा खोलामा पानीको बहाव घटेर लक्ष्य अनुसार उत्पादन हुन नसक्ने र वर्षायाममा पूर्ण क्षमतामा उत्पादन भए पनि प्रसारण आउटेजका कारण साना जलविद्युत आयोजना आर्थिक रुपमा सङ्कटग्रस्त हुने गरेका छन् ।
राष्ट्र बैङ्कले सङ्कटग्रस्त साना आयोजनालाई विशेष पुनर्कर्जामा प्राथमिकता दिने व्यवस्था मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको हो ।
राष्ट्र बैङ्कले सङ्कटग्रस्त आयोजनालाई पुनर्कर्जामा प्राथमिकता दिने विषय समेट्नु सकारात्मक भएको र यसले समस्यामा परेका अरू साना ठूला आयोजनालाई पनि राहतको बाटो खोलेको अध्यक्ष सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्