तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ सरकारको तीन वर्ष उपलब्धिपूर्ण : मुख्यमन्त्री राउत

जनकपुरधाम। प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न चुनौतिहरुका बाबजुद पनि प्रदेश नंं २ का सरकार गठन भएको तीन वर्षमा प्रदेशवासीले अनुभूति गर्ने किसिमको कामकाज गरेको दावी गर्नु भएको छ ।

प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका बारेमा जानकारी दिने उद्देश्यले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राख्दै कामकाज गरेको बताउनुभयो ।

उहाँले बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले गरेको कामकाजका बारेमा ११ शीर्षकमा ९३ बुदामा सरकारको उपलब्धिहरुको बारेमा उल्लेख गदै सुशासन स्थापित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ मा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउदै यसको सकारात्मक प्रभावहरु पनि समाजकम पर्न थालेको दावी पनि गर्नुभयो ।

उहाँले यस अवधिमा ६ हजार ९ सय ६ जना छोरीहरुलाई २० वर्ष पछि ३ लाख पाउने गरी छोरी बीमा र मुद्दति खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा २६ हजार ९ सय ५६ जना छोरीहरुको तथ्याङ्क संकलन गरिएको जानकारी दिदै छोरीलाई विद्यालयमा पहुंच पुर्याउन तथा प्रोत्साहित गर्नका लागि २ सय ४१ वटा सामुदायिक विद्यालयमा १४ हजार साईकल वितरण गरिएको र चाडै २० हजार साईकल वितरण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले सामुदायिक विद्यालयमा अध्ययन गरी एसइई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न सफल ८ वटै जिल्लाका उत्कृष्ट २८ जना छात्राहरुलाई जनही प्रथम, द्वितीय र तृतियलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रकम प्रोत्साहन रकम प्रदान गरेको बताउनु भयो ।

यसका साथै विद्यालयहरुमा छात्रामैत्री शौचालयको अभावको समस्या समाधान गर्न तथा विद्यालयमा छात्राहरुको पढाइलाई निरन्तरता बढाउने उद्देश्यले १ सय सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण गरिएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक पर्यटनलाई बढावा दिन प्रदेशस्थित विभिन्न समुदायमा गौरवको रुपमा रहेको जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि जानकारी पनि दिनुभयो ।

मुख्यमन्त्रीले प्रदेश सरकार स्थापना भएदेखि हालसम्म सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो ।

प्रदेश सरकार तथा स्थानीय तहबीच सहकार्य समन्वय तथा साझेदारीको भावना अभिबृद्धि गर्न प्रदेश भित्रका १ सय ३६ स्थानीय तहहरुलाई यस अवधिमा वित्तीय हस्तान्तरण मार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको जानकारी पनि मुख्यमन्त्रीले दिनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउन ६४ वटै निर्वाचन क्षेत्रमा प्राबिधिक बिद्यालय संचालनको पूर्व तयारी गरिएको तथा प्रदेशको गौरवको आयोजनाको रुपमा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको निर्माणका लागि बाराको झिट्कैयामा प्रारम्भिक कार्य शुरु गरिएको जानकारी दिनुभयो ।

जानकी मन्दिरको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको र धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्र्बद्वन गर्ने उद्देश्यले प्रदेश २ का विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको सौन्दर्यीकरण गर्ने कार्य भइरहेको र यसले प्रदेशको पर्यटन प्रबद्र्धन हुने बताउनु भयो ।

उहाँले चुरे जोगाउ मधेश वचाउ नीति अनुरुप ‘समृद्घि का लागि वन परियोजना’ स्वीकृत भई प्रदेश भित्रको २५ वटा पालिकामा लागू हुने गरी कार्य अघि बढाइएको जानकारी दिनुभयो । मुख्यमन्त्रीले ८ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई खाद्यान्न खरिद गर्न प्रत्येक जिल्लालाई २ करोडका दरले १६ करोडको खाद्य सामग्री खरिद गरी १ सय ३६ वटै स्थानीय तहका वडा अध्यक्षहरुलाई हस्तान्तरण गराइएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास तथा योजनामन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवल किशोर साह सहितका राज्यमन्त्रीहरु पनि उपस्थित रहनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button