तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा जिल्लामा आँप, तरकारी, तेलहन दलहनको जोन थप्न माग 

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय तथा अनुगमन समिति धनुषामा सम्पन्न भएको बैठकबाट जिल्लामा थप तीन वटा जोन कार्यक्रम सञ्चालन गर्नका लागि नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

समन्वय समितिका अध्यक्ष रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादवको अध्यक्षतामा भएको बैठकबाट धनुषा जिल्लामा आँप, तरकारी तथा तेलहन दलहनको जोन कार्यक्रम सञ्चालनका लागि माग गर्ने निर्णय भएको समितिका सदस्य सचिव एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको छ ।

यस अघि धनुषामा धान जोन तथा माछा सुपर जोनको कार्यक्रम सञ्चालनमा रहेको छ । धान जोन तथा माछा सुपर जोन अन्तर्गत सञ्चालनमा रहेको कामकाजको अनुगमन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालयको सहभागितामा स्थलगत रुपमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिकाका प्रतिनिधिहरू, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला वन कार्यालयका प्रमुखहरू, धानजोन सञ्चालक समितिका अध्यक्ष सहितको सहभागितामा भएको बैठकले हालसम्म परियोजनाले गरेको कामकाजको समीक्षा पनि गरेको छ ।

पछिल्लो पटक माग भएको तीन वटा जोनको कार्यक्रम धनुषाको कृषि क्षेत्रको विकासका  लागि निक्कै महत्त्वपूर्ण भएको र यसले आँप, तरकारी, तेलहन तथा दलहन बालीको उत्पादन थप वृद्धि हुने विश्वास जिल्ला समन्वय समितिका प्रमुख रामदेव वनरैत यादवको रहेको छ ।

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि यी कार्यक्रम थप्न आवश्यक भएको किसान अगुवाहरूले बैठकमा जोड भएको थियो । नेपाल सरकारले नै एक जिल्लामा कम्तीमा पनि पाँच वटा जोन कार्यक्रम सञ्चालन गर्नु पर्ने नीति अख्तियार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button