राखेपद्वारा स्थानीय उपभोक्ता समितिसँग सम्झौता

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा नौ वटा पूर्वाधार निर्माण गर्नका लागि स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ ।
गण्डकी प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको दौरान आइतबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गर्नुभएको हो ।
पोखराको ज्येष्ठ नागरिक बहूद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपैयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै लमजुङको राईनस नपा ६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपैयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यसैगरी, राखेपले लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नपा स्थित रत्नेचौर बहूद्देश्यीय खेलमैदानका लागि १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रङ्गशाला स्तरउन्नतीका लागि १० लाख उपलब्ध गराउने भएको छ ।
राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आइतबार नै सम्झौता भएको छ । सम्झौतामा उल्लेख भए अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्त भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्