वीरेन्द्रनगरमा दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ लगाउने व्यवस्था मिलाएको छ ।
वीनपाको स्वास्थ्य शाखाका भूपेन्द्रदेव गिरीले फागुन २ गतेदेखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल काला गाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा छुटेका लक्षित समूहलाई फागुन २ गते, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई फागुन २ र ३ गते, निजामती सेवाका कर्मचारी (वीरेन्द्रनगर नगरपालिकाका) २ देखि ८ गतेसम्म, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई ५ र ६ गते, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीलाई ४ देखि ८ गतेसम्म, न्याय समूहका कर्मचारी (अदालत, वकिल) लाई ४ र ५ गते एवं पत्रकारलाई ४ र ५ गते प्रदेश अस्पतालबाट खोप प्रदान गरिने छ ।
उहाँले कोभिड–१९, विरुद्धको खोप लगाउनको लागि लक्षित समूहका व्यक्तिले आ–आफ्नो आधिकारिक परिचय पत्र वा कार्यालयको पत्र सहित खोप सेवा लिन आउनु पर्ने बताउनुभयो ।
उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।








प्रतिक्रिया राख्नुहोस्