तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : मन्त्री पौडेल

रुपन्देही । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

गृह जिल्ला रुपन्देहीमा आज नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।

उहाँले पार्टीको आधिकारिकता र चुनाव चिन्हका बारेमा भ्रम छर्न कोसिस भए पनि जनताको मायाले त्यो भ्रम हटेको बताउनुभयो ।

दुनियाँको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उहाँले जनसभाबाट फर्केपछि गाउँ–गाउँमा टोल टोलमा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले नेकपा विभाजन नै नभएको केही षडयन्त्रकारी तथा विभाजनकारी स्वार्थी तत्त्वहरू चोइटिएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्री लेखराज भट्टले बुटवलमा देखिएको नागरिकको सहभागिताले पार्टी विभाजन गर्न चाहनेहरू परास्त भएको बताउनुभयो ।

कार्यक्रममा नेताहरू स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, राधा ज्ञवाली, प्रदेश अध्यक्ष लिला गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button