तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रणको लागि पेपर लेस, फेस लेस अभियान

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना महामारी र पार्टी भित्रैको प्रतिपक्षको अवरोधका बाबजुद सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तर अघि बढाई रहेको दाबी गर्नु भएको छ ।

सरकारको डिजिटल नेपाल फ्रेम वर्क कार्यक्रम शुभारम्भ अन्तर्गत स्मार्ट दोलखा निर्माण अभियान उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले मुलुकको विकास र समृद्धि अभियानकै कार्यक्रम अन्तर्गत देशको हरेक पालिका, सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरूमा द्रुतगतिको इन्टरनेट जडान गर्ने र इन्टरनेटका माध्यमबाट स्थानीय सरकार, विद्यालय र स्वास्थ्य चौकीहरूले गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माणको लागि स्मार्ट दोलखा निर्माण अभियान शुभारम्भ गरिएको बताउनुभयो ।

डिजिटल नेपाल फ्रेम वर्क कार्यक्रमको शुभारम्भ दोलखाबाटै गर्नुको कारणबारे प्रष्टिकरण दिनुहुँदै मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्ला भएकैले मात्र नभै हिमाली जिल्ला समेत भएकोले स्मार्ट दोलखा निर्माण अभियान कार्यक्रमको नामबाट शुभारम्भ गरिएको र यो अभियान देशको ७७ वटै जिल्लामा सुरु हुने बताउनुभयो ।

उहाँले मन्तव्यकै क्रममा कार्यक्रममा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई आफु मन्त्री रहे वा नरहे पनि कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

मुलुकमा भ्रष्टाचार अन्त्यको लागि ऐन कानुन मात्र पर्याप्त नहुने उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यसको लागि पेपर लेस, फेस लेस अभियान आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेम वर्क अन्तर्गत नागरिक एपको परिकल्पना गर्नु भएको र त्यसले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने मन्त्री गुरुङले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले मुलुकमा हुने विकासे कामको ढिलासुस्तीमा ठेक्का प्रणाली दोष रहेको पनि बताउनुभयो ।

कुनै एउटा कामको लागि एक जनाले ठेक्का पार्ने, उसले पेटीमा अर्कोलाई दिने र पेटीवालाले पनि काम गर्न अर्कैलाई दिने प्रवृत्तिले काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले लामो साँगु चरिकोट सडकमा भएको ढिलासुस्तीको कारण पनि त्यस्तै रहेको बताउनुभयो । उहाँले मुलुकको द्रुततर विकासको लागि ठेक्का प्रणालीमा सुधार गर्नु पर्ने समेत बताउनुभयो ।

जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको कार्यक्रममा नेकपाका बागमती प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेल, तामाकोसी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, सैलुङ गाउँपालिकाका प्रमुख भरत दुलाल, कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा, गौरीशङ्कर गाउँपालिकाका प्रमुख स्वयम बहादुर खड्का, दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रबन्धक निर्देशक टैक अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button