वन संरक्षणमा चुनौती बढ्दै, सुर्खेतमा वन्यजन्तु उद्धारमा सकस

सुर्खेत । सुर्खेतमा अशक्त, घाइते, टुहुरा, तथा चोरी सिकारीको चपेटामा परेका वन्यजन्तुको उद्धारमा सकस भइरहेको छ ।
आधुनिक सरसामान, प्रशिक्षित जनशक्तिसँगै अपर्याप्त बजेट लगायतका समस्याले वन्यजन्तुको उद्धार तथा उपचारमा सकस हुने गरेको हो ।
आवश्यक स्रोत साधन तथा दक्ष जनशक्ति अभावका बाबजुद वन्यजन्तुको वासस्थान संरक्षण, चोरी सिकारी नियन्त्रण र उद्धारमा निरन्तर काम गरिरहेको डिभिजन वन कार्यालयको दाबी छ ।
डिभिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले दक्ष जनशक्ति, आवश्यक स्रोत साधन अभावका बाबजुद वन्यजन्तुको वासस्थान संरक्षण, चोरी सिकारी नियन्त्रण, उद्धार तथा उपचारमा कुनै कमी हुन नदिएको बताउनुभयो ।
उहाँले पछिल्लो एक वर्षमा जिल्ला भरीबाट पाँच दर्जन बढी अशक्त, घाइते, टुहुरा, तथा चोरी सिकारीको चपेटामा परेका वन्यजन्तु तथा चराचुरुङ्गीको उद्धार गरिएको जानकारी दिनुभयो ।

‘सुर्खेतमा वन्यजन्तुका लागि छुट्टै अस्पताल तथा औषधालय नभए पनि पशु रोग विज्ञहरूको सरसल्लाह, पुराना अनुभवको सहाराले उद्धार गरिएका वन्यजन्तु तथा चराचुरुङ्गीको उपचारपछि सुरक्षित पुर्नवास्थानमा छोड्ने गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यद्यपि उद्धार गरिएका वन्यजन्तु, चराचुरुङ्गीको अस्पताल, औषधि एवं उससँग सम्बन्धित प्राविधिक जनशक्ति अभावले समय सापेक्ष उद्धार तथा उपचार गर्न भने सकेका छैनौँ ।’
उहाँले अब छिट्टै वन्यजन्तुका लागि प्रशिक्षित जनशक्ति, औषधि, अस्पताललगायतका पूर्वाधार निर्माणतर्फ सोच्नु पर्ने बेला आएको औँल्याउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमै हालसम्म वन्यजन्तु तथा चराचुरुङ्गीका लागि भनेर छुट्टै अस्पताल बनाइएको छैन ।
डिभिजन वनका सूचना अधिकारी टेकबहादुर रावलले वन्यजन्तु उपचार केन्द्र अभावमा घाइते, अशक्त, टुहुरा वन्यजन्तुको उद्धारपछि पुर्नःस्थापनमा समस्या हुँदै आएको जनाउनुभयो ।

‘डिभिजन वनले हाल कार्यालय हाताभित्र बनाइएका दुई वटा आश्रय स्थलमा जस्तोसुकै वन्यजन्तु तथा चराचुरुङ्गीलाई राख्ने गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘घाइते, अशक्त, विमार वन्यजन्तु सामान्य उपचारपछि बाँच्यो भने सुरक्षित वासस्थानमा छोडिदिने गरेका छौँ ।’
उहाँले जिल्लाका विभिन्न क्षेत्रबाट उद्धार गरी ल्याइएका वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने गरिएको बताउनुभयो । उहाँले वन्यजन्तुको कर्णाली प्रदेशमै अस्पताल नभएकाले वन्यजन्तु संरक्षण, उद्धार, उपचारका लागि प्रदेश सरकारले नै नीतिअनुरूपमै विशेष योजनाका साथ अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँका अनुसार डिभिजन वन कार्यालयको हाता भित्र रहेको वन्यजन्तु आश्रय स्थलमा कतिपय वन्यजन्तु उचित औषधोपचार एवं व्यवस्थापन अभावमा मर्ने गरेका छन् ।

संरक्षित वन क्षेत्र भित्र रहेका वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेको वाडेनले गर्दै आइरहेको छ । वाडेनसँग वन्यजन्तु संरक्षण तथा व्यवस्थापनका लागि पर्याप्त स्रोत साधन हुने हुँदा सहजै उद्धार, उपचार र पुनर्स्थापना हुने गरेको छ ।
तर, संरक्षित क्षेत्र बाहिरका वन्यजन्तुहरुको संरक्षण डिभिजन वन कार्यालयहरूले गर्नुपर्ने नियम रहेकाले पर्याप्त स्रोत साधनको अभावमा प्रभावकारी सेवा पुर्याउन नसकेको हो ।
अशक्त, घाइते, टुहुरा, तथा चोरी सिकारीको चपेटामा परेका वन्यजन्तुको उद्धार गरी औषधी उपचारपछि सुरक्षित वासस्थानमा पुनर्स्थापित गर्न कठिनाइ हुँदै आएको छ ।

वन्यजन्तु संरक्षण, व्यवस्थापन, उद्धार तथा उपचारमा आवश्यक पूर्वाधारसहित पर्याप्त बजेट अभावले चुनौतीहरू बढ्दै गइरहेका छन् ।
वन डढेलो, चोरी सिकारी, जङ्गली जनावर देख्ने बित्तिकै लखेट्ने, मार्ने प्रवृत्ति लगायतका कारणले वन्यजन्तुमाथि जोखिम बढ्दै गइरहेको हो ।
मुख्यतः प्रजननको अगाडि–पछाडि आहारको खोजीमा गाउँ पस्ने, गर्मी तथा वर्षात्को समयमा जङ्गली जनावरमाथि बढी जोखिम हुने गर्छ । डिभिजन वनले एक वर्षमा संरक्षित वन्यजन्तु पानी ओत, सालक, घोरल, चितुवा, बँदेल, अजिङ्गर, भार्से, सारस, गिद्ध, लाटेकोशेरो, हुचिल, दुम्सी, जरायो, चरिबाघ, मृग, चित्तल लगायत पाँच दर्जन बढी वन्यजन्तुको उद्धार गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्