‘मनोवैज्ञानिक परामर्श जस्ता सुविधाहरू देशको ग्रामीण क्षेत्रसम्म पुग्नुपर्छ’

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मनोवैज्ञानिक परामर्श जस्ता सुविधाहरू देशको ग्रामीण क्षेत्रहरूका विपन्न जनतासम्म पुग्नुपर्नेमा जोड दिनु भएको छ ।
शुक्रवार सम्पन्न “नेपालमा मानसिक स्वास्थ्य सक्रियता” नामक भर्चुअल सम्मेलनमा बोल्नुहुँदै राजदूत बेरीले ग्रामीण क्षेत्रका मानिसहरूमा मानसिक स्वास्थ्य सेवा र सुविधाको पहुँच कम भएको हुनाले स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई ती क्षेत्रहरू पुग्न अनुरोध समेत गर्नुभएको छ ।
मानसिक समस्याहरूलाई समाजले उपेक्षा र बेवास्ता गरेका भन्नुहुँदै राजदूत बेरीले सबैलाई डिप्रेसन, चिन्ता र स्किजोफ्रेनिया जस्ता विभिन्न मानसिक रोगहरूमा कलंकविरूद्ध लड्न आग्रह गर्नुभयो ।
“अमेरिकाले नेपाली समुदायलाई उनीहरूको आत्मा सम्मान र मानव अधिकार सुनिश्चित गर्न सधैँ सहयोग गर्नेछ, किनभने अमेरिका सफल तब मात्र हुन्छ, जब नेपाल सफल हुनेछ,“ बेरीले बताउनुभयो ।
अमेरिकी राजदूत बेरीले अमेरिकी सहयोग नियोक यूएसएआइडीले काठमाडौँ, कैलाली, ललितपुर, मकवानपुर र मोरङलगायत जिल्लाहरूमा मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो
सम्मेलनमा बोल्नुहुँदै वक्ताहरू जगन्नाथ लामिछाने, मातृका देवकोटा, निश्मा चौधरी, र सुधीन पोखरेलले मानसिक समस्याहरूका बारे मानिसहरूलाई सचेत गराउनु पर्नेमा जोड दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्