तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकाको नगरसभा सम्पन्न, वडा विभाजनका साथै सीमाना हेरफेर गर्ने तयारी

तनहुँ । तनहुँको व्यास नगरपालिकाले वडा विभाजनका साथै वडाको सीमाना हेरफेर गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न नगरपालिकाको ३४औं नगरसभाले एउटा वडालाई विभाजन गर्दै अन्य केही वडाको भागलाई अरु वडामा समावेश गर्ने निर्णय गरेको हो ।

सभाले व्यास नगरपालिका–६ लाई दुई वटा वडा बनाउने प्रस्ताव नगरसभाले सर्वसम्मत पास गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविक श्याम्घाको वडा नं १, २, ३ र ४ लाई एउटा वडा बनाउने र त्यसको केन्द्र शिशाघाटमा र वडा नं ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाएर त्यसको केन्द्र श्याम्घा हटिया निर्धारणका लागि प्रदेश सरकार हुँदै सङ्घीय सरकार समक्ष पठाउने निर्णय गरेको छ ।

व्यास नगरपालिका–८ को कोटथोक गाउँलाई वडा नं ७ मा र व्यास नगरपालिका–९ को छापलाई व्यास नगरपालिका–११ मा समावेश गर्ने निर्णय नगरसभाले गरेको छ ।
त्यस्तै व्यास नगरपालिका–११ को पातलगाउँलाई व्यास नगरपालिका–९ मा राख्ने निर्णय भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सीमाना हेरफेरका लागि समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदन साथै सर्वदलीय बैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक सीमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिका वा नगरपालिकाको सङ्ख्या वा सीमाना हेरफेर गर्नुपरेमा त्यस्तो हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ ।

ऐनमा गाउँपालिका वा नगरपालिकाको सङ्ख्या र सीमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका वा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै गरिसक्नुपर्ने उल्लेख छ ।

नगरसभाले छिमेकी पालिकाका वडाका केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न सम्बन्धित स्थानीय तहमा प्रस्ताव पठाउने निर्णय समेत गरेको छ ।

भानु नगरपालिका–१३ को टुटेपानीलाई व्यास नगरपालिका–८ मा समावेश गर्ने प्रस्ताव नगरसभाले गरेको छ ।

बन्दिपुर गाउँपालिका–३ को तामुङभन्दा परको दुई वटा गाउँलाई व्यास नगरपालिका–१४ मा र भानु नगरपालिका–६ मूलपानीका दुई वटा टोललाई व्यास नगरपालिका–१२ मा समावेश गर्ने प्रस्ताव गरिएको छ ।

व्यास नगरपालिकामा हालसम्म देखिएको साढे १० करोड बेरुजु रकम नगर सभाले फछ्यौट गराउने भएको छ ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको रकम नगर सभामार्फत सम्परीक्षण गराउने प्रस्ताव ३४ औं नगर सभाले पारित गरेको छ ।

सभापछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म देखिएका बेरुजु रकम नगर सभामा प्रस्तुत गरेर सम्परीक्षण गराउने निर्णय भएको बताउनुभयो । ‘कतिपय हामीले गरेका कामको रकम बेरुजु देखिएकोमा सभामार्फत सम्परीक्षण गराउनुपर्ने देखिएकाले यस्तो निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पहिल्यैदेखिका रकम बेरुजु देखिएकामा समिति नै गठन गरेर कटौती भएको भन्दै महालेखाको सुझावअनुसार नै नगर सभामा प्रस्ताव गएको बताउनुभयो ।

त्यस्तै नगरसभाले चालु आर्थिक वर्ष ०७७/०७८ को संशोधित बजेट तथा कार्यक्रम रु एक अर्ब ५७ करोड २७ लाख १२ हजारलाई यथावत राखी संशोधित आयमा सङ्घ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु दुई करोड २८ लाख १९ हजार थप गरी आन्तरिक आयमा सोही बराबर घटाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरसभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयिक विषयहरु उपर विभिन्न वडाबाट २७ जनाले छलफलमा भाग लिनुभएको थियो ।

यसैगरी स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अध्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ ।

उक्त सभाले वडा नं २ र ३ मा आठ आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यवसायीक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा ७० (सत्तरी) प्रतिशत भन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी निर्माण स्वीकृती गर्ने तर ५० (पचास) प्रतिशत भन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनिहरुले अनिवार्य रुपमा अण्डर ग्राउन्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने गरि मापदण्ड निर्धारण गरिएको छ ।

यस्तै उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरेको छ ।

अन्य विविध प्रस्तावहरुमा बीपी वन वाटिका खेलमैदानको कवर्ड हल स्थानान्तरण गर्ने, करका दरमा सामान्य हेरफेर गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button