भ्रष्ट्राचार नियन्त्रणमा अख्तियारको भूमिका प्रभावकारीः प्रदेश प्रमुख प्रसाईँ
मकवानपुर । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले भ्रष्ट्राचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका प्रभावकारी रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईँले अख्तियारले स्थापना काल देखि नै भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य कामहरू गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रसाईँले आयोगका पूर्व प्रमुख आयुक्त विरुद्ध नै अदालतमा मुद्दा दायर गरेर कारबाही प्रक्रिया सुरु गर्नुले आयोगको विश्वसनीयता बढेको भन्दै आगामी दिनहरूमा पनि भ्रष्टाचार गर्ने सानो ठूलो जो कसैलाई पनि प्रमाणको आधारमा कानुनको कठघरामा ल्याउने कुरामा कति पनि विचलित नभई काम गर्न आग्रह गर्नुभयो ।
भ्रष्ट्राचार नियन्त्रणका लागि सबै सरोकारवालाहरूसँग आयोगलाई सहयोग र सहकार्यको लागि समेत उहाँले आग्रह गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयका निमित्त प्रमुख अखण्ड शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका सचिव राधिका अर्याल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्