तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षाको क्षेत्रमा सरकार संवेदनशील छ : मुख्यमन्त्री पौडेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको क्षेत्रमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

बुधवार हेटौँडा–१५, रातोमाटेस्थित सशस्त्र प्रहरी गण मुख्यालयको नवनिर्मित ब्यारेक भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार शान्ति सुरक्षाका क्षेत्रमा संवेदनशील रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले शान्ति सुरक्षाका लागि प्रहरीको भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । प्रहरी संरचनाको सुदृढीकरण बिना चाहे अनुसारको सुरक्षा दिन नसकिने हुँदा प्रहरीका भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

सङ्घीय सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणमा केही ढिलाइ भएता पनि अहिले करिब ४ दर्जन भवनहरू निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले अबको ३ देखि ४ महिना भित्रमा ४६ वटा प्रहरीका भौतिक संरचनाहरू निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने चरणमा रहेको र थप २१ वटा भवन निर्माणका लागि स्वीकृति प्रदान गरेर बजेट समेत विनियोजन भइसकेको उहाँले बताउनुभयो ।

मुलुकको सुरक्षाको काममा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने प्रहरी संरचनाहरू पूर्ण सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रदेश सरकारले प्रहरी प्रशासनका क्षेत्रमा कुनै कुराको कमी हुन नदिने भन्दै उहाँले जिम्मेवार भएर चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, मध्य पृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त कुमार लामा, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन वैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौँडाका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रुपैयाँ लागतमा २०७५ जेठ ३ गते ठेक्का सम्झौता गरी १६ कोठे ब्यारेक भवन निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button