सेवा नियमित भएपछि सेवाग्राहीको भीड बढ्दै
जनकपुरधाम । विगत केही समयदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको सङ्ख्यामा अत्यधिक भीड बढेको छ ।
कोरोनाका कारणले १८ पालिकालाई बार अनुसारको सेवा दिँदै आएकोमा माघ १ गतेदेखि नै सामान्य समय जस्तै सेवा दिन थालेपछि निक्कै भीड बढेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
खास गरेर नयाँ नागरिकता बनाउने, प्रतिलिपि बनाउने, मधेसी प्रमाणित गर्ने, हातहतियार दर्ता गर्ने, नवीकरण गर्ने तथा राहदानीको काम गर्दै आएका कारणले कार्यालयमा भीड बढेको छ । यसका साथै भइपरी आउने अन्य प्रशासनिक कामकाज पनि जिल्ला प्रशासन कार्यालयले नै गर्नुपरेका कारणले भीड रहने गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालय जिल्लाको एक ठाउँमा मात्र भएको र जनसङ्ख्या करिब ८ लाख पुगेका कारणले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।
अहिले जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण सङ्कलन गर्ने काम गरेका कारणले पनि भीड बढेको छ । अत्यधिक भीड बढेपछि भीडको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयमा खटेका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ ।
कोरोनाका संक्रमण कम भएको कारणले कोरोना कालमा सेवा लिन नआएका सेवाग्राहीहरू एक्कासि थपिएका कारणले भीड हुने गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्