रेडियो नेपाल परिसर छिर्दा दुवै पुरस्कार जितेँ : गुरुदेव कामत

सुनसरी । शास्त्रीय सङ्गीतका अग्रज साधक तथा गायक गुरुदेव कामत इटहरी बस्न थाल्नुभएको छ ।
कामतले इटहरी उपमहानगरपालिका नजिकै ‘गुरु सङ्गीत पाठशाला’ स्थापना गर्नुभयो । कामतको उपस्थितिले पूर्वमा शास्त्रीय सङ्गीतमा विधिवत् र संस्थागत उत्साह सञ्चार गरेको छ ।
।
शनिबार आफ्नो उपस्थितिबारे सार्वजनिक जनाउ दिन इटहरीमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा कामतले आफ्नै स्वर तथा सङ्गीतमा रहेको कालीप्रसाद रिजालका शब्दहरू ‘मधुवन पनि नयाँ–नयाँ मधुमास नयाँ, मेरो हजुरको तनमा चन्दनको वास आउँछ’सहित हरिहरण र मेहदी हसनका गरी आधा दर्जन गजल प्रस्तुत गर्नुभएको थियो । कामतलाई गायक तथा सङ्गीतकार मणि गुरुङले तबलामा सहयोग गर्नुभएको थियो ।
मंसिर देखि इटहरी बस्न थाल्नुभएका कामतले २०४७ सालमा पहिलोपल्ट प्रतिस्पर्धाका लागि रेडियो नेपाल परिसर छिर्दाको समय सम्झदैँ भन्नुभयो “मनमा अनेकन डर थियो निर्णायकहरू कोही मधेसी मूलका थिएनन् मलाई पक्कै रुचाउँदैनन् भन्ने थियो, तरपनि भगवान् पशुपतिनाथको कृपाले शास्त्रीय गायन र आधुनिक गायन गरी दुवैको पुरस्कार जितेँ ।”
सिरहा लक्ष्मीपुर–पतारी, पोखरभिन्डा घर भएका कामतको काठमाडौँ बाहिर यो पहिलो संस्थागत उपस्थिति हो । २०४५ माघमा सिनेमाको ‘प्ले–ब्याक सिङ्गर’ बन्ने धोकोको पोको बोकेर काठमाडौँ छिर्नुभएका कामत २०७७ मंसिर अर्थात् ३२ वर्षपछि ‘वरिष्ठ शास्त्रीय सङ्गीतसाधक’ भएर बाहिरिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्