निर्यात गर्ने उद्योगीलाई प्रोत्साहनको माग
रुपन्देही । उद्योगी व्यवसायीहरुले निर्यात गर्ने उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्न माग गरेका छन् ।
आयातलाई प्रतिस्थापन गरी निर्यात गर्ने उद्योगीहरुलाई सरकारले कर छुटदेखि भन्सारको झन्झटिलो हटाउनुपर्ने माग उनीहरुको छ ।
रुपन्देहीमा आयोजित कर तथा कानुनी प्रावधान र आर्थिक ऐन–२०७७ मा भएका कर छुट तथा सुविधा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्ने उद्योगीहरुले यस्तो बताएका हुन् ।
नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक एजाज आलमले निश्चित कर तिर्ने करदातालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले लगानीको ४ लाखसम्म आम्दानी गर्ने उद्योगीलाई सरकारले हाल कर छुट गरे पनि यसको दायरा बढाउँदै १० लाखसम्म पुराउनुपर्ने माग गर्नुभयो ।
नेपाल चेम्वर अफ कमर्शका केन्द्रीय सदस्य टंक पोखरलले अहिले पनि कतिपय सामान निर्यात गर्दा भन्सार शुल्क लाग्ने गरेकोमा भन्सार शुल्कमा छुट दिन आग्रह गर्नुभयो । उद्योगी अमृत गोयन्काले प्रत्येक महिनामा बुझाउनुपर्ने भ्याटको दाखिलाको समय बढाउन माग गर्नुभयो ।
आन्तरिक राजश्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले साना, खुद्रा व्यवसायी, फलफूल तथा तरकारी व्यवसायीलाई करको दायरामा नआएकोले त्यस्ता व्यवसायीलाई छुट सुविधा उपयोग गर्न र करको दायरामा ल्याउन व्यवसायिक संघ संस्थाले पहल गर्नुपर्ने बताउनुभयो ।
करदाताको माग र कोरोनाबाट प्रभावित व्यवसायीलाई राहत दिन सरकारले विभिन्न छुट सुविधा ल्याएको र उक्त सुविधामा हालसम्म उत्साहजनक सहभागिता नदेखिएकोले यस तर्फ ध्यान दिई धेरै करदातालाई यो सुविधा उपयोग गर्न गराउनतर्फ त्यस्ता संघ संस्थाले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
अर्थ मन्त्रालयका राजश्व महाशाखा प्रमुख रामेश्वर दंगालले नीतिगत तहमा देखिएका र व्यवसायीले उठाएको समस्यालाई आगामी दिनमा सम्बोधन गर्न मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
सरकारले कोरोना महामारीबाट प्रभावित व्यवसायीलाई राहत दिने उद्देश्यले आर्थिक ऐन–२०७७मार्फत वार्षिक रु।२० लाखसम्म कारोवार गर्ने करदातालाइ लाग्ने करमा ७५ प्रतिशत छुट र वार्षिक ५० लाखसम्म कारोवार गर्ने करदातालाई लाग्ने करमा ५० प्रतिशतसम्म छुटको प्रावधान ल्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्