तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले किसान उत्साहित, स्याउ खेती र अन्नबालीलाई राहत  

जुम्ला  । कर्णालीका हिमाली जिल्लामा लामो समयपछि हिमपात हुँदा यहाँका किसान उत्साहित भएका छन् ।
खडेरीले स्याउ, अन्नबाली उत्पादनमा गिरावट आउने चिन्तामा परेका कर्णालीका किसान ढिलै भए पनि हिउँ पर्दा उत्साहित भएका हुन् ।
कर्णालीका जुम्ला, मुगु, डोल्पा र हुम्लामा बिहीबार रातिदेखि हिमपात सुरु भएको थियो । यो हिमपात कर्णालीमा यो बर्ष तेस्रो पटक हो । शुक्रवार दिनमा रोकिए पनि रातीबाट पुनः हिउँ पर्न सुरु गरेको हो ।
हिमपातसँगै कर्णालीमा चिसो भने अत्यधिक बढेको छ । तर यहाँका किसानले चिसोको मतलब नराखी हिउँ अझै पर्नु पर्ने बताइरहेका छन् । जुम्लाको लेकाली क्षेत्र र उच्च भूभागमा बाक्लो हिउँ परे पनि बेसी क्षेत्रमा भने त्यति बाक्लो परेको छैन ।
तर मुगु, हुम्ला डोल्पामा भने डेढ फिटभन्दा बढी हिउँ परेको पाइएको छ । नाग्म गमगडी सडकको गुच्ची लेकमा बाक्लो हिउँ जमेकोले १÷२ दिन यातायात बन्द हुने देखिएको छ । तर विगतको जस्तो लामो समयसम्म सडक अवरुद्ध हुने स्थित नरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
उता हुम्ला जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्रमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । तर किसान भने खुसी भएका छन् ।
विगतमा माघ १५ बाट तातो रिट्ने कर्णालीमा यस वर्ष निकै ढिला हिमपात भएपछि चिसो कायमै छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला भरी २ सय ६० जनालाई न्यानो कम्बल र ज्याकेट वितरण गरेको छ ।  चिसो बढेकाले झोलिलो खान, घर बाहिर ननिस्कन तथा ज्येष्ठ नागरिक, बालबालिकाको विशेष ख्याल गर्न प्रअिज भुपेन्द्र थापाले आग्रह गर्नुभएको छ ।
हिमपातले सेताम्मे जुम्लाका खेतीयोग्य जमिन । तस्बिर : सागर परियार

स्याउ खेती अन्नबालीलाई राहत

माघको तेस्रो साता बितिसक्दासम्म हिमपात नहुँदा लेकाली बाली सुक्ने, स्याउ उत्पादन घट्ने चिन्तामा जुम्ली किसान थिए । हिमपात नहुँदा अहिलेसम्म स्याउका बिरुवा रोप्ने, काँटछाँट गर्ने, खाडल खन्ने, बगैँचा व्यवस्थापन गर्ने काम भएको थिएन । अब भने जुम्लामा स्याउ बगैँचा व्यवस्थापनको चटारो सुरु हुन्छ ।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले हिमपातले स्याउ खेतीसँगै अन्नबालीलाई राहत पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो,“अब स्याउ खेती र अन्नबालीलाई राहत हुने भयो । हिउँको बेगर  प्रतीक्षा गरिरहेका किसान कृषि कर्ममा जुट्ने तयारीमा छन् । भने, नयाँ स्याउका बिरुवा रोप्ने, लेकाली बाली गौ, जौ सप्रिने आसामा किसानहरू रहेका छन् ।” कृषि कार्यालय, स्याउ सुपर जोनबाट स्याउका बिरुवा वितरण, बिरुवा काँटछाँट, बगैँचा व्यवस्थापनबारे तालिम दिने उहाँको भनाई छ ।
स्याउ खेतीका लागि हामी हिउँ कुरिरहेका थियौ । ढिलै भए पनि पर्‍यो । स्याउ किसान तारा बहादुर बोहोराले भन्नुभयो,“स्याउ उत्पादन, अन्नबालीको उत्पादन घट्ने चिन्ता थियो । अब स्याउ बगैँचा व्यवस्थापनको चटारो सुरु हुन्छ ।”
अझै स्याउ खेतीका लागि पर्याप्त हिउँ नपरेकोले अझै बाक्लो हिउँ पर्नु पर्ने किसान तारा बोहोराको भनाई छ । स्याउ खेतीमा जुम्ली किसानको आकर्षण बढ्दै गएको छ । अहिले करिब साढे १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् ।
तस्बिर : सागर परियार
हिउँले मुगुको रारा तालको सौन्दर्यलाई झनै बढाएको छ । अब त्यहाँ घुम्ने आन्तरिक पर्यटक बढ्ने रारा राष्ट्रिय निकुञ्जको अनुमान छ ।
यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई फाइदा हुने भन्दै हुम्ली किसान पनि उत्साहित भएका छन् ।
खेतबारीमा लगाइएको गहुँ, जौ, बालीलाई सप्रिन हिमपातले राहत पुर्‍याउने सर्केगाड गाउँपालिका वडा ६ बराइ गाउँ निवासी मान बहादुर ऐडिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button