मकवानपुरगढीका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले दिवा खाजा कार्यक्रम प्रभावकारी भएपछि सबै सामुदायिक विद्यालयमा लागु गरेको छ । विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीको भर्ना, उपस्थिति देखि शैक्षिक नतिजा समेतमा सकारात्मक प्रभाव देखिन थालेको हो ।
कार्यक्रम प्रभावकारी भएपछि चालु आर्थिक वर्षदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो । प्राथमिक तह (१–५) मा कार्यक्रम प्रभावकारी भएपछि गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा (आधारभूत र माध्यमिक तहसम्मका विद्यार्थीलाई पनि दिवा खाजा व्यवस्था गरिएको अध्यक्ष हुमागाईँले बताउनुभयो ।
सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट सुरु गरेको कार्यक्रम गाउँपालिकाका सामुदायिक विद्यालयका ५ कक्षासम्मका विद्यार्थीलाई दिएको दिवा खाजाले बालबालिकाको उपस्थिति साथै शैक्षिक नतिजा समेत बढाएपछि पालिकाले आधारभूत र मावि तहका विद्यार्थीका लागि पनि दिवा खाजा व्यवस्था गरेको हो ।
प्राथमिक तहका विद्यार्थीलाई सङ्घीय सरकारले ४० लाख बजेट उपलब्ध गराएकोमा आधारभूत र मावि तहका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउन गाउँपालिकाले पनि रकम छुट्याएको हुमागाईँले जानकारी दिनुभयो ।
प्रावि तहमा कार्यक्रम प्रभावकारी देखिएपछि प्राविका विद्यार्थीलाई मात्र नभएर पालिकाले आधारभूत र मावि तहका विद्यार्थीलाई पनि दिवा खाजा उपलब्ध गराउनुपर्छ भन्ने सोचले आधारभूत र मावि तहका विद्यार्थीलाई आर्थिक वर्ष २०७७÷०७८ को मङ्सिर २१ गतेबाट दिवा खाजा दिन सुरु गरिएको अध्यक्ष हुमागाईँले जानकारी दिनुभयो ।
आधारभूत र मावि तहका प्रतिविद्यार्थी १५ रुपियाँ बराबरको खाजा उपलब्ध गराउन पालिकाले बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । पालिकामा ४० वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये आधारभूत ८ वटा र मावि ८ छन् भने, अन्य प्रावि छन् ।
दिवा खाजा लागु भएपछि विद्यार्थीहरू रमाएर पुरै समय विद्यालयमा बिताउनुका साथै पढाइमा नियमित हुन थालेका छन् । मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविमा कक्षा ८ मा अध्ययनरत प्रमीला बिक दिवा खाजा पाएपछि पढाइमा नियमितता हुन थालेको बताउनु हुन्छ । ‘कुनै दिन त भोक लागेर छुट्टी माग्नुपर्ने अवस्था आउँथ्यो तर हाल भाइबहिनीसँग बसेर खाजा खाना पाउँदा निकै खुसी लागेको छ,’ विकले भन्नुभयो ।
पालिकाले दिवा खाजा सुरु गरेपछि अध्ययन÷अध्यापनमा सहजता मिलेको सोही विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले बताउनुभयो । ‘विद्यार्थीहरू भोकले कक्षाकोठामै निदाउने गर्थे,’ उहाँले भन्नुभयो, तर, हाल सहज भएको छ । पालिका ग्रामीण क्षेत्रको भएकोले विपन्न परिवारका विद्यार्थीमा यसले सकारात्मक प्रभाव पारेको उहाँले जानकारी दिनुभयो । दिवा खाजाले विद्यार्थीको नियमित उपस्थिति मात्र नभएर विद्यार्थी भर्ना सङ्ख्या पनि बढेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीलाई जाउलो, खिर, अण्डा, चिउरा, चनाको तरकारी र भुजा, हरियो तरकारी गरी फरक किसिमका खाजा दिने गरिएको छ । पहाडी र ग्रामीण क्षेत्रका गरिब परिवारलाई लक्षित गरी दिइने खाजा कार्यक्रमका कारण विद्यार्थीहरू हर्षित देखिनुका साथै दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्