तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिकालाई कार्य क्षेत्र बनाएका ९ वटा सहकारी संस्थाको एकीकरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कार्य क्षेत्र बनाएका ९ वटा सहकारी संस्थाहरुले एकीकरण गर्ने घोषणा गरेका छन् ।

संघीय सरकारले सहकारीहरुलाई एकीकृत बनाउने, एउटै उद्देश्य भएका सहकारीमा भन्दा अन्यमा सदस्य बन्न नपाइनेजस्ता कानुनी प्रावधान बनाएपछि उनीहरुले यसरी एकीकृत कारोबार शुरु गर्न थालेको जनाएका छन् ।

२ वटा बहुउद्देश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्थाले एकीकृत रुपमा बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न लागेका हुन् ।

सबै सहकारीको समन्वय गरी एकीकरण कार्य सम्पन्न गर्न भरत भुसालको संयोजकत्वमा ११ सदस्यीय एकीकरण कार्यदल बनाइ जिम्मेवारी दिइएको छ ।

आदर्श बहुमुखी, आधारभूत बचत, जन्मभूमि बहुउद्देश्यीय, नौकट्टी बचत, स्वीकृति बचत, दयालु बचत, लोककल्याणकारी बचत, धरती बचत, समावेशी कल्याण बचत सहकारी संस्थाले यस्तो निर्णय गरेका हुन् ।

एकीकरणको जिम्मेवारी पाएका संयोजक भरत भुसालले सरकारको तीन खम्बे अर्थनीतिको मुख्य आधार स्तम्भ रहेको सहकारीलाई बलियो बनाउन यो अभियान थालिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button