तपाईँ सुन्दै हुनुहुन्छः

अनुसन्धान सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

नेपालगन्ज  । जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले पक्राउ परेका सात जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रहरीले ४ जनालाई नेपालगन्ज, २ जनालाई कैलाली र १ जनालाई भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट १४ घर भई हाल  नेपालगन्ज १८ लग्दहवा बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोट जुनीचाँदे ७ घर भई हाल नेपालगन्ज ४ बसपार्क डेरा गरी बस्ने २१ वर्षीय तेज मगर भन्ने तेज बहादुर विएम र नेपालगन्ज १८ लग्दहवाका २४ वर्षीय दिनेश कुमार कुर्मी (बर्मा) रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

प्रहरीले अन्य ४ जनाको भने १८ वर्ष नपुगेकाले नाम खुलाएको छैन । घटनामा संंलग्नहरु विरुद्ध मुलुकी अपराध संहिता ऐन ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्मकैदको मुद्दा दर्ता गरिएको रानाले जानकारी दिनुभयो ।

सहायक सूचक थापा मगरको गत माघ २ गते नेपालगन्जको काँरकादो नजिकै तोरी बारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button