तपाईँ सुन्दै हुनुहुन्छः

‘रिचेस्टेकर’ मेसिन पर्याप्त नहुँदा विलम्ब शुल्क तिर्नुपरेको व्यवसायीको गुनासो

वीरगञ्ज । वीरगञ्जमा रहेको सुक्खा बन्दरगाहमा कन्टेनर ओसारपसार गर्ने ‘रिचेस्टेकर’ पर्याप्त नहुँदा उद्योगी व्यवसायीहरूले विलम्ब शुल्क तिर्नु परिरहेको गुनासो गरेका छन् ।

पछिल्लो समयमा सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का प्रिष्टिन भ्यालीले लिएको छ । उपलब्ध रिचेस्टेकरले मात्र प्रभावकारी काम नगरी ढिला हुँदा डिटेन्सन चार्ज तिर्नु परिरहेको आयातकर्ता प्रदीप केडियाले बताउनुभयो ।

पहिलेभन्दा केही सुधार भए पनि रिचेस्टेकर अझै चाहिने केडियाले जानकारी दिनुभयो । कोरोना महामारी पछि अहिले वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आउने कार्गोको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा रिचेस्टेकर सङ्ख्या बढाउनुको विकल्प नभएको व्यवसायीहरूले बताएका छन् ।

कन्टेनरमा आएका सामानलाई गोदाममा राख्न तथा तत्काल लैजानका लागि लहरीमा चढाउन समेत रिचेस्टेकरको आवश्यकता पर्ने हुँदा  सुख्खा बन्दरगाहमा रहेका ४ वटा रिचेस्टेकरले नपुगेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ ।

नेपाल इन्टर मोडेल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले सुख्खा बन्दरगाह भन्सारमा कन्टेनर ओसारपसारका लागि रबर टायर क्रेन ल्याउन गृहकार्य भइरहेको बताउँदै रिचेस्टेकरले एउटा कन्टेनर मात्रै ओसार पसार गर्छ भने क्रेनले एक साथ ४–५ वटा समेत लोड अनलोड गर्न सक्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button