तपाईँ सुन्दै हुनुहुन्छः

एक करोड लागतमा नाग्म बजारको सडक विस्तार गरिँदै

जुम्ला। माथिल्लो कर्णालीका तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजारको सडक विस्तार अघि बढेको छ । सडकको मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचनाले कर्णाली राजमार्गको नाग्म बजारको सडक साँघुरिँदै गएको थियो । कालिकोट, जुम्ला र मुगु जिल्ला जोड्ने मध्यविन्दु नाग्म बजारको सडकलाई विस्तार गर्न लागिएको हो ।

सडक साँघुरिएर दुर्घटनाको जोखिम बढेपछि सडकलाई चौडा, कालोपत्रे तथा सुरक्षित व्यवस्थित बनाउन सडक विस्तारका लागि नाग्म बजारका अव्यवस्थित भौतिक संरचना भत्काउन थालिएको छ ।

सडकलाई चौडा तथा व्यवस्थित बनाउने सडक डिभिजन जुम्लाको योजनालाई सफल बनाउन नाग्मबासी आफैले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले स्थानीयको सहमतिमा निर्माण गरिएका भौतिक संरचना भत्काउन थालेको बताउनुभयो ।

कालिकोटको तिला गुफा नगरपालिका १ मा पर्ने ३ जिल्ला जोड्ने केन्द्रबिन्दु नाग्म बजारको सडक खण्डलाई विस्तार गरी सुरक्षित र फराकिलो बनाउने योजना रहेको प्रमुख भण्डारीको भनाई छ ।

उहाँका अनुसार नाग्म बजारमा जनघनत्व बढ्दै गएको र सडक स्वयम नागरिकले अतिक्रमण गरेर साँघुरो भएकाले चौडा बनाउने योजना अघि सारिएको हो । कालिकोटका निवर्तमान सङ्घीय सांसद र बजार व्यवस्थापन पदाधिकारीबिच समन्वय गर्दा आफ्नो संरचना आफै भत्काउन सहमत भएका हुन् । निर्माण गरिएका संरचना भत्काएर सडक विस्तारमा स्थानीय जुटेका हुन् ।

सीमावर्ती नाग्म बजारको सडक खण्ड विस्तारका लागि एक करोड १७ लाख बजेट खर्च हुने भएको छ । चालु आवमै सडक विस्तार हुने गरी सडक डिभिजन कार्यालय जुम्लाले १ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको हो । ठेक्का आह्वान भएर पनि काम अघि बढिसकेको छ ।

सडक विस्तारका लागि आफ्नो घर भत्काइरहेका अधिकांश व्यापारीले  दीर्घकालीन रुपमा व्यापार प्रवर्द्धन हुने, दुर्घटना न्यूनीकरण हुने, सहज तथा सुरक्षित यात्रा हुने भएकोले घर भत्काउन कुनै अप्ठ्यारो नभएको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button