१ अर्बको लगानीमा हुलास आयरन इण्डष्ट्रिज प्रालिको स्थापना
वीरगञ्ज । झण्डै १ अर्बको लगानीमा व्यापारीक घराना गोल्छा समुहले वीरगञ्ज–पोखरीया सडक खण्डको गर्दौल नजिकै थप अर्को हुलास आयरन इण्डष्ट्रिज प्रालिको स्थापना गरेको छ ।
एक वर्ष अघि नै सञ्चालन गरिने गरी निर्माण गरिएको उद्योगको कोरोना महामारीको कारण निर्माण कार्य अधुरो बन्न पुगेको र आगामी वैशाखसम्म निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको हुलास समूहका सञ्चालक शरद गोल्छाले जानकारी दिनुभयो ।
१८ विघाहा क्षेत्रफलमा फैलिएको उद्योगको निर्माण कार्य तीन वर्ष अघिदेखि सुरु भएको थियो । वार्षिक ८० हजार टन फलामजन्य निर्माण सामाग्री उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले पाइप, जस्तापाता, वायर तारजाली, एगंल लगायतका सामग्री उत्पादन गर्ने जनाइएको छ । हुलास स्टिल प्रालि सिमराबाट केही मेशिन गर्दौल स्थित नवनिर्मित उद्योगमा ल्याइएको र केही मेशिन भारत तथा तेस्रो मुलुकबाट झिकाइएको जनाइएको छ ।
वीरगञ्ज–पोखरीया सडक खण्डमा हाल सम्म निर्माण भएको यो सबैभन्दा ठुलो लगानीको स्टिल उद्योग हो ।
उद्योग स्थापनापछि सो भेगका करिब १ हजार युवालाई रोजगारी पाउने विश्वास लिइएको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह ‘मोदी’ले जानकारी दिनुभयो ।
वीरगञ्ज पोखरीया सडक खण्डमा खाद्य उद्योगपछि ठुला उद्योगहरू समेत स्थापना हुन लागेपछि यसले ग्रामीण क्षेत्रको विकासमा समेत टेवा पुग्ने पोखरीया नगरपालिकाकी उपप्रमुख सलामा खातुनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्