ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकार बताउँछन् ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले लिएको स्मार्ट सिटी बनाउने योजनामा यसले निकै सहयोग गर्नेछ । महानगरपालिकालाई स्मार्ट सिटी बनाउन साइकल लेनका साथै पानी तथा हरियालीजन्य विभिन्न परियोजनामा समेत हामीले जोड दिइरहेका छाँै ।
कार्यक्रममा क्यापिटल आई प्रालिका कार्यकारी निर्देशक श्रीश कर्माचार्यले एप्सको ‘प्ले स्टोर’ अन गरी ‘एलएमसी सिटी पुलिस एप्स’ खुलेपछि त्यसमा उजूरीको शीर्षक र सूचनाको जानकारी लेखिने ठाउँमा आफ्ना समस्या लेखी तस्वीर हालिदिएर उजूरी गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका कार्यालयमा जडान गरिएको कम्प्युटरमा उजूरी आउँछ । यसैका आधारमा राम्रो काममा तारिफ र नराम्रोमा दण्ड दिन सकिन्छ । एप्समा आएको सूचना भने गोप्य रहन्छ ।” नगर प्रहरी प्रमुख सीताराम हाछेथुले एप्समा जुनसुकै जानकारी आइसकेपछि आफूहरु त्यस स्थानमा पुगी तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्