भारतवाट हुने आयात गतवर्षको भन्दा यो बर्ष बढी

रुपन्देही । भन्सार कार्यालय भैरहवा रुपन्देहीबाट हुने आयात निर्यात मध्ये भारतवाट हुने आयात तर्फ गत वर्षको भन्दा राम्रो रहेको छ । कोरोना संक्रमणका बाबजुद अहिले आयात राम्रो भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको ( २०७६ साउन–पुस) ६ महिनामा ५४ अर्व ८१ करोड ७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा जम्मा ४५ अर्व ४६ करोड ३६ लाख ७ हजार रुपैया राजस्व संकलन भएको थियो । यो लक्ष्यको ८२ दशमलब ९५ प्रतिशत थियो । अर्थात गतवर्षको सहज अवस्थामा पनि लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन ।
अहिले चालु वर्षको ६ महिनामा(साउन –पुस)मा ५२ अर्व २७ करोड ४५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ, यो भनेको लक्ष्यको १०६ दशमलब १० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
भैरहवा भन्सारको लक्ष्यअनुसार राजस्व संकलन बढ्नुमा मुख्य गरी कार, मोटरसाइकल, सिंगल पिकअप र डबल पिक अप भ्यान, पेट्रोल हाइस्पिड डिजेलको आयात बढनु हो ।
चालु वर्षको ६ महिनामा आयातको ग्राफ पोजिटिभ हुने गरी बढ्नुमा सबैभन्दा बढी आयात भएका १० वस्तु मध्ये मोटरसाइकल एक नम्बरमा छ । भैरहवा नाका हुँदै गएको ६ महिनामा १ लाख ६ सय थान बिभिन्न कम्पनीका मोटरसाइकल भित्रिएका थिए ।
ती मोटर साइकलको मूल्य ९ अर्व ६५ करोड ६६ लाख २९ हजार रहेकोमा राजश्व मात्रै ९ अर्व ४२ करोड ३३ लाख २१ हजार रुपैयाँ उठेको थियो । यसले पनि के देखाउँछ भने कोरोनाको महामारीमा आयातको ग्राफ पोजिटिभ अर्थात सकारात्मक रहयो ।
यसपटक दशै तिहार छठ जस्ता पर्वमा मोटरसाईकलको माग अत्यधिक रहेको थियो । आयात बढदा लक्ष्य अनुसार राजश्व संकलन त हुन्छ तर रकम भने विदेसिन्छ र यस्ले आयात निर्यातको खाडल अझै गहिरो गराउँदछ ।
चालु बर्षको ६ महिनामा राजस्व बढाउने गरी बढी आएका अन्य सामानहरुमा मोटरसाइकल बाहेक, एमएस बिलेट, ग्लेज टाईल, हाईस्पिड डिजेल, पेट्रोल, सिंगल तथा डबल पिक अप गाडी, मार्वल स्याब, पोलीथिन दाना रहेका छन् ।
त्यसैगरी गत ६ महिनामा यो नाकाबाट ३ अर्ब ४५ करोड ९ लाख ९६ हजार रुपैया मुल्य बराबरका २ लाख ६४ हजार ९ सय १८ गोटा मोबाइल आयात भएको छ ।
६ महिनामा १ खर्व ४५ अर्व ८६ करोड ९९ लाख ७२ हजार रुपैया बराबरको सामान भैरहवा नाका हुदै भारत र तेश्रो मुलुकबाट आयात हुदा यही नाका हुदै २ अर्व ८६ करोड ६३ लाख ८१ हजार रुपैया मुल्य बराबरको सामान भारत तथा तेश्रो मुलुक निकासि भएको भन्सार कार्यालय भैरहवाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्