तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनैतिक उतारचढावले विकासको कामलाई प्रभावित गर्दैन’

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय तहमा आएको राजनैतिक उतारचढावले विकासको कामलाई प्रभावित नहुने बताउनुभएको छ ।

आइतबार रुपन्देहीमा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाहरूको पछि लाग्न नहुने बताउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाइनु र केन्द्रमा देखिएको विवादमा तरङ्गित हुने प्रवृत्ति गलत भएको बताउनुभयो ।

राजनैतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खालको सन्देश दिनुपर्ने आवश्यकता औंल्याउंदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिने र विकास निर्माणको काममा एक भएर लाग्नुपर्ने बत्ताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा र नेकपा विवाद सर्वोच्च अदालत र निर्वाचन आयोगमा पुगिसकेकोले त्यसको निरूपणका लागि पनि संवैधानिक अङ्गप्रति भरोसा गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश समन्वय परिषद्को चौथो बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद्मा आबद्ध पालिकाका प्रमुखहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button