जनकपुरधामका विद्यालयमा तीन दिन बिदा
जनकपुरधाम । विगत केही दिनदेखि पश्चिमी वायुको प्रभावका कारणले अत्यधिक मात्रामा चिसो बढेपछि विद्यालयका बालबालिकाहरू प्रभावित हुन थालेपछि धनुषाका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यसमितिको बैठक बसेर चिसोका कारणले विद्यार्थीहरूमा विभिन्न प्रकारको स्वास्थ्य समस्याहरू देखा पर्न थालेपछि नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख मिहिलाल यादवले चिसोका कारणले विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता समस्याहरू देखिन थालेपछि उपमहानगरपालिका क्षेत्रको विद्यालयहरूमा माघ १८, १९ र २० गते सार्वजनिक बिदा दिने जानकारी दिनुभयो ।
यस अघि धनुषाका मिथिला नगरपालिकाले पनि नगर क्षेत्रका सबै विद्यालयहरू २२ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको थियो ।
खास गरेर पश्चिम दिशाबाट चलेको चिसो हावासँगको शितलहरका कारणले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । चिसोका कारणले बालबालिका, ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, दीर्घ रोगीहरू, हाड जोर्नी तथा नशा रोगका रोगीहरू अत्याधिक मात्रामा प्रभावित भएका छन् ।
अत्याधिक चिसोका कारणले सर्व साधारणमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु उत्पन्न भएको छ ।
कोल्ड डायरिया, निमोनिया, ज्वरो जस्ता समस्याले पीडित भएर उपचारमा आउनेको सङ्ख्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
चिसोका कारणले विपन्न तथा खुल्ला आकाशमा काम गर्ने श्रमिक तथा मजदुर वर्ग बढी मारमा परेका छन् । उता चिसोबाट जोगिनका लागि न्यानो तथा बाक्लो कपडाको बिक्रीमा वृद्धि भएको छ । उता चिसोका कारणले बजारको चहलपहलमा पनि कमी आएको छ ।








प्रतिक्रिया राख्नुहोस्