तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ सरकारद्वारा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठनको पदाधिकारीहरु नियुक्त गरेको छ ।

प्रतिष्ठानमा नियुक्त भएका पदाधिकारीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गर्दै चालु बर्षमा कम्तिमा दुई विषयको भए पनि स्नातकोत्तर तहको पठन पाठन सुचारु गर्नका लागि आग्रह गर्नुभयो ।

उहाँले शुन्यबाट प्रतिष्ठानले काम गर्नु पर्ने भएकाले प्रदेश सरकारको प्रतिष्ठामा आँच नआउने किसिमले प्रतिष्ठानले काम अगाडी बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना भएको बताउदै प्रदेश नंं २ को स्वास्थ्य क्षेत्रको समग्र विकासमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जनकपुर क्षेत्र स्वास्थ्यका लागि मुलुककै हवको रुपमा विकास हुने आशा व्यक्त गर्दै यसमा पदाधिकारीहरुको लगनशीलता तथा मेहनत आवश्यक भएको बताउनुभयो ।

प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रतिष्ठानमा नियुक्त भएका तीनै जना पदाधिकारी आ–आफ्नो क्षेत्रमा विशिष्ट विज्ञता हाँसिल गरेका व्यक्ति भएकाले प्रतिष्ठानको काम तथा मधेसको स्वास्थ्य क्षेत्रको सुधारमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले प्रतिष्ठानको उपकूलपतिमा नेपालकै ख्यातिप्राप्त चिकित्सक डा.रामकेवल साह, रेक्टरमा टिचिङ्ग अस्पताल महाराजगंजका सह प्राध्यापक डा. अंकुर साह र रजिष्टारमा सोही अस्पतालका सह प्राध्यापक डा. विनोद यादवलाई नियुक्त गरेको छ ।

नियुक्ति पछि बोल्दै उपकूलपति डा. रामकेव साहले स्वास्थ्य क्षेत्रको सामग्र सुधारका लागि प्रतिष्ठानले मेहनत गर्ने बताउँदै जनकपुरधामलाई मुलुकको स्वास्थ्य क्षेत्रको हव बनाउने विश्वास दिलाउनुभयो ।

प्रदेश नंं २ का सरकारले प्रदेश सभाबाट प्रतिष्ठान सम्मबन्धि विधेयक गत कार्तिक २५ गते पारित गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button