तपाईँ सुन्दै हुनुहुन्छः

सातामा करिब आधा खर्बको शेयर किनबेच

काठमाडौँ । यो साता नेपाली शेयर बजारमा करिब आधा खर्बको शेयरहरूको किनबेच भएको छ । दैनिक कारोबार रकम बढ्दै जाँदा बिहीबार कारोबार रकममा अर्को नयाँ रेकर्ड निर्माण भएको छ ।

यस साता शेयर बजारमा पाँच कारोबार दिनमा ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको हो । बिहीबार अहिले सम्मकै सर्वाधिक ९ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ ।

कारोबार रकमको नयाँ रेकर्ड बने सँगै यो साताको औसत कारोबार रकम बढेर ८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यो हाल सम्मकै सर्वाधिक औसत कारोबार रकमको रेकर्ड बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यस साता बजारको परिसूचक ५०.६६ अङ्क बढेको छ । गत साताको अन्तिम कारोबार दिन २३७४.६४ विन्दुमा बन्द भएको नेप्से, यस साताको अन्तिम कारोबार दिन २.१३ प्रतिशत बढेर २४२५.३० विन्दुमा पुगेको छ ।

माघ ११ गतेदेखि राफसाफको समय दुई दिनमा झरेको छ । दुई दिनमा झरेको राफसाफ समयले सर्ट टर्म लगानी गर्ने लगानीकर्तालाई थप छिटो छिटो कारोबार गर्न सहयोग पुर्‍याएको लगानीकर्ताहरूले बताएका छन् ।

लगातार बजार बढ्दै जाँदा बैङ्कबाट ऋण लिएर लगानी गर्ने लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् भने बचतको व्याज लगातार घट्दै जाँदा बचतकर्ताले समेत शेयर बजारमा पैसा लगाउन थालेको लगानीकर्ता प्रकाश रजौराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button