तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा सिटी हलको शिलान्यास

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा निर्माण गर्न लागिएको भरतपुर सिटी हलको शिलान्यास गर्नुभएको छ । उहाँले भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटी हलको आज शिलान्यास गर्नुभएको हो ।

शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो । देशको मध्य भागमा रहेर पनि ठुलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटी हल निर्माण सुरु गरेको हो । सिटी हल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटी हल निर्माण थालिएको हो । सिटी हल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले सिटी हलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नुभएको थियो ।

सिटी हल निर्माणका लागि सङ्घीय सरकारअन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इन्डो सगुन रौताहा जेभी रुपन्देहीबिच सम्झौता भएको छ । जिल्ला समन्वय समिति पछाडि रहेको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु १ अर्ब ६ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभा हल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ ।

दुई वटा भर्‍याङ, दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्ग मिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अति विशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहनेछ ।

उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटी हल देशकै नमुना हुने अर्याल बताउनुहुन्छ । दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सिटी हल निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता भए लगत्तै कामलाई तीव्रता दिइएको छ । हाल जमिनमुनिको काम भइरहेको छ ।

सिटी हल बनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ठुलादेखि सानासम्मका कार्यक्रम गर्न सकिनेछ । देशको मध्य भागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भ्रातृ संस्था, विभिन्न सङ्घसंस्थालगायत कार्यक्रम गर्न यहाँ सहज हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button